कांग्रेसमा १४ औं महाधिवेशनको रन्को | नेताहरु छलफलमा


 काठमाडौं, असार ११ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति नजिकिएसँगै नयाँ समीकरणका लागि प्रयासहरु थालिएका छन् ।
पार्टी सभापतिमा शेरबहादुर देउवाले आफै दाहोर्‍याउने पक्का भएपछि कांग्रेसमा तीन नेतापुत्रहरुबीच छलफल बाक्लिएको छ ।
यसक्रममा आज पनि महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र कोइरालाबीच छलफलमा चलिरहेको छ ।
सभापतिका आकांक्षी तीन नेताबीच भदौमा हुने १४ औं महाधिवेशनमा नयाँ समीकरण बनाउन यसअघि नेता निधिले सोमबार आफ्नो निवासमा बोलाएर अरु दुई नेतासँग छलफल चलाउनुभएको थियो ।
सोही दिन साँझ काठमाडौंको एक पार्टी प्यालेसमा कांग्रेसका युवा नेताहरुसँग पनि निधिले छलफल गर्नुभएको थियो ।
युवा नेताहरुले १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएकाहरु बाहेक अरु जोसुकैलाई साथ दिन सक्ने भन्दै पार्टीमा रुपान्तरणका एजेण्डासहित आउन भनेका थिए ।
शुरुमा सभापति देउवासँग समर्थन माग्नुभएका निधिलाई देउवाले साथ दिन नसक्ने बताएपछि उहाँ नयाँ समीकरणमा जुट्नुभएको हो । इमेज च्यानलमा समाचार छ ।