अर्घाखाँचीमा दलित समुदायका युवा युवतीलाई तीन दिने पत्रकारिता तालिम शुरु


नवीन रसाइली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा अर्घाखाँचीले दलित समुदायका युवा युवतीलाई तीन दिने पत्रकारिता तालिम शुरु गरेको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिका महिला तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग, सन्धिखर्क मिडिया प्रा.लिको आयोजना र राष्ट्रिय दलित पत्रकार संघको समन्वयमा सञ्चालन भएको हो ।
आज सोमबार कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रत्येक वडाका दलित युवा युवतीलाई समेटेर तालिम सुरु गरिएको छ ।
कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष सागर परियारको अध्यक्षतामा सञ्चालन भएको हो ।
कार्यक्रममा सन्धिखरर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, सन्धिखर्क नगर पालिका सदस्य तथा दलित उत्थान समन्वय समिति सह – संयोजक सृजना बिक,   नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल, पत्रकार महासंघ प्रदेश सदस्य प्रेम नारायण आचार्य, सनपा महिला बालबालिका तथा ज्येष्ठ नागरिक साखा प्रमुख बेल कुमारी परियार, दलित मुक्ति  मोर्चा नेपाल अर्घाखाँचीका जिल्ला उपाध्यक्ष सन्जय कुमार नेपाली,  प्रशिक्षक हृदय कुमार भुसाल र बिरेन्द्र केसि को आतिथ्यता रहेको थियो भने करिब ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो  ।
कार्यक्रममा सन्धिखर्क नगर पालिका उपप्रमुख ठाकुर कुमार विकले दलित समुदायका लागि लक्षित कार्यक्रम गर्दै आएको र अझै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले `सबै नगरवासीको रहर, सुन्दर समृद्ध सन्धिखर्क नगर´ यो नारालाई सार्थक पार्नको लागि विभिन्न कार्यक्रम निर्माण तथा सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरुले महत्त्वपूर्ण भनाइ राख्नुभएको हो ।
उद्घाटन समारोहमा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा अर्घाखाँचीका सल्लाहकार बाबुराम रसाइलीले स्वागत मन्तव्य राख्नुभएको हो । कार्यक्रम सचिव अयन विश्वकर्माले सञ्चालन गर्नुभएको हो ।