एजेन्सी
अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज कोरोनाविरूद्धको खोप नेपाललाई पठाउने भएको छ।
बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउन लागेको समाचार प्रकाशन गरेको छ।
यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि सोझै आउने हो भन्ने खुलिसकेको छैन।
काठमाडौंस्थित अमेरिकी राजदूतावास स्रोतले खोपबारे अहिले विस्तृत विवरण आइनसकेको बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आफूले खोप आउनेबारे थाहा पाएको भए पनि कहिले र कसरी आउँछ भन्नेबारे जानकारी नभएको बताए।
रोयटर्सले उद्धृत गरेका ती अधिकारीले वैज्ञानिक, कानुनी र नियामक निकायका अधिकारीले नेपाल र भुटानमा सुरक्षित र प्रभावकारी खोप पठाउने सुनिश्चितता गर्न काम गरेको उल्लेख गरेका छन्।
एक महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि कोभ्याक्समार्फत् अमेरिकी खोप आउनेबारे कुराकानी भइरहेको भए पनि कुन समयमा कति डोज आउँछ भन्नेबारे टुंगो नभएको बताएका छन्।
जोन्सन एन्ड जोन्सनले बनाएको खोप एक डोज लगाए पुग्छ।