अर्घाखाँचीडट्कम संवाददाता | फोटो: मिरा सेजवाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा असारको महिना, किसानहरु खेतबारीमा कुटोकोदालो गर्दै मानो छरेर मुरी उब्जाउने काममा व्यस्त छन् । असार सकिन अब धेरै दिन बाँकी छैन । यता सरकारी निकायहरुलाई किसानलाई भन्दा बढी रन्को छ । जथाभावी बजेट सकाउने र सबै पैसा खर्च भएको देखाउने चटारोमा विकासे अड्डादेखि साना ठूला सबै निकाय लागिपरेका छन् ।
सन्धिखर्क – गोरुसिंगे सडक खण्ड अन्तर्गत जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ सियाले बजार क्षेत्रको पिच रोडमा धमाधम माटोले पिच हुँदैछ । पिच रोडमा देखिएका खाल्डोमा माटोले भर्ने काम गरिएको छ ।
यतिबेला जिल्लाभर रातदिन बजेट सकाउन काम भईरहेका छन् । लाग्छ अर्घाखाँचीमा विकासको गति अत्यन्त तीव्र रुपमा भइरहेको छ । कतै बाटो पिच हुँदै छ त कतै भएको पिच उप्काएर ढल खनिदै छ, कतै पिचमाथि पिच थपिँदै छ । हिलाम्मे सडकमा कतै ग्राभेल गर्ने काम हुँदैछ । रातदिन नभनी चौबीसै घन्टा काम भइरहेको छ । यस आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा छुट्टाइएको बजेटबाट दिनकै करोडौ रुपैयाँ खर्च भइरहेको छ । न कुनै योजना छ, न कुनै समन्वय छ, न कुनै अनुगमन र निरीक्षण छ । जसरी हुन्छ राज्यको बजेट भ्याउने नाममा सरकारी निकायलाई भ्याइनभ्याई छ ।
यस्तै जिल्लाका स्थानिय निकाय भएको बजेट फ्रिज हुन नदिई सबै खर्च भएको देखाउन र अर्को वर्ष अझ बढी बजेट मागेर अनियमित तरिकाले खर्च गर्न अहिले सबै विकासे अड्डाहरु लागि परेका छन् । विकासे अड्डामात्र होइन अन्य सरकारी निकायहरुले पनि गोष्ठी र सेमिनार गर्दै राज्यको ढुकुटी रित्याइरहेका छन् । केही दिनदेखि सन्धिखर्कका होटेलका सेमिनार हलहरु कुनै खाली नहुने स्थितिमा छन् ।
सन्धिखर्कका व्यवसायी कृष्ण भुसाल भन्छन्; “असारमा किसानले रोपेको धानले त मङ्सिरमा पक्कै पनि प्रतिफल दिन्छ । तर असारमा जथाभावी रुपमा विकासको नाममा गरेको खर्चले कहिल्लै पनि प्रतिफल दिँदैन । त्यसरी गरेको विकास टिकाउ पनि हुँदैन र अनियमितता हुने सम्भावना प्रबल हुन्छ । असारे विकास खहरेको भेल जस्तै हो, जसको कुनै भर हुँदैन ।
छत्रदेव गाउँपालिकाद्धारा भुक्तानी निकासा बन्द
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले भुक्तानी निकासा बन्द (क्लोजिङ) गरेको छ ।
छत्रदेव गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम २ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिनअगावै भुक्तानी दिएर निकासा र खर्च अद्यावधिक गरी भुक्तानी र निकासा बन्द गर्नुपर्ने व्यवस्थाअनुसार असार २५ गतेदेखि क्लोजिङ गर्ने भएको हो ।
छत्रदेव गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै भुक्तानी निकासा बन्द गरेको जनाएको छ ।
यस अघि छत्रदेव गाउँपालिकाले तोकिएको समयसीमाभन्दा पछाडि पेस हुन आएका भुक्तानीका फायलउपर कुनै कारबाही नगरिने र भुक्तानी नभए कार्यालय नै जवाफदेही नहुने बताएको थियो ।
उता जिल्लाभरका स्थानिय तहमा आर्थिक वर्ष ‘क्लोजिङ’को समय सुरु भएसँगै असारे चटारो लागेको छ । विभिन्न उपभोक्ता समितिलाई अहिले आफ्नो योजना तथा कार्यक्रम सम्पन्न गर्ने हतारो भइरहेको छ । आर्थिक वर्ष ‘क्लोजिङ’का लागि पालिकाहरुले विभिन्न योजना तथा कार्यक्रमको फरफारक तथा अन्तिम भुक्तानीका लागि आवश्यक कागजात पेस गर्न सूचना जारी गरेका छन् ।