२०७८ आषाढ २७, आइतवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ३ धारापानीमा घरमा आगो लगाई ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
धारापानीका बिर बहादुर बन्जाडेका ३९ वर्षिय छोरा रबि भन्ने तुल बहादुर बन्जाडेलाई प्रहरीले शुक्रबार ५:३९ बजे साँझ चितवन जिल्लाको भरतपुर महानगरपालिका वार्ड नं.११ अमनचोक भन्ने स्थानमा गई लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
घटना आज भन्दा ६ वर्ष अघि अर्थात् २०७२ साल कात्तिक ६ गतेको हो । भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेले अत्यधिक मदिरा सेवन गरी मात्तिएर घरमा आगो लगाइ छोरी र श्रीमतीलाई जलाउने प्रयास गरेका थिए ।
साँझ ५ बजेतिर अत्यधिक मदिरा सेवन गरी घरमा आएका बन्जाडेले घरमा रहेकी श्रीमतीसँग भनाभन भएपछि छोरीसहित घरमा रहेकी श्रीमतीलाई मार्न भनी राति आफ्नै घरमा आगो लगाएका थिए ।
घटना लगत्तै भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । केही दिनपछि धरौटीमा छुटेका तुलबहादुर जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सनाएको थियो । त्यसपछि उनी फरार थिए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भरतपुरबाट प्रकाउ गरेको थियो । बन्जाडेलाई अदालतको आदेशले कैद भुक्तान गर्नको लागि जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको छ ।