सर्वोच्चको फैसला स्वागतयोग्य, मृत्युशय्‍यामा पुगेको संसद जोगियो: एमाले वरिष्ठ नेता माधवकुमार नेपाल


काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्या‍मा पुगिसकेको संसदलाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।
‘झन्डै मृत्युशय्या‍मा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’ कान्तिपुसँगको कुराकानी गर्दै नेपालले भने, ‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ ।’
नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए । ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने । कान्तिपुरमा समाचार छ ।