नियुक्ति सच्याएपछि मात्रै शपथ ग्रहण लिने शेरबहादुर देउवाको अडान


कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्ति गरेको भन्दै त्यसलाई सच्याएपछि मात्रै शपथ ग्रहण गर्ने अडान लिएका छन् । देउवाले राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख नगरी नियुक्ति दिएकाले त्यसलाई संविधानको धारा ७६ (५) बमोजिम उल्लेख गरेर नियुक्ति सच्याएपछि मात्रै शपथ लिने भएका हुन् ।
साँझ ६ बजे हुने भनिएको शपथका लागि देउवा शितलनिवास पुगिसकेका छन् । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई लगायत पनि शितलनिवास पुगेका छन् । गठबन्धनका अन्य नेताहरु पनि शितलनिवास पुगिसकेका छन् । तर, नियुक्ति सच्याएपछि मात्रै शपथ लिने तयारी रहेको श्रोतले बतायो ।
देउवाले आफुले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी पेश गरेको र त्यही आधारमा सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री नियुक्त गर्न निर्देशन गरेकाले सो उल्लेख गरेर नियुक्तिको व्यवस्था गर्न आग्रह गरेका हुन् । 
प्रधानमन्त्रीमा देउवासँगै कांग्रेसका तर्फबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषालले पनि मन्त्रीको शपथ गराउने तयारी छ । 
कांग्रेसका प्रमुख सचेतक खाँणले गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । यस्तै, कार्कीले कानून, न्याय तथा संसदीय मामिला दिने तयारी छ । शर्मालाई अर्थ मन्त्रालय र भुषाललाई ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँपत्रीकामा समाचार छ ।