अब १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप लगाउन शुरु गरिने


काठमाडौं । सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने गरी योजना तयार भैसकेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि : शुल्क खोप उपलब्ध गराउने निर्णय गरेको थियो । योसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् ।
आवश्यक खोपको समेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो । चरणबद्ध रुपमा सबै नागरिकलाई छिट्टै नि : शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप नेपाल आइपुग्ने छ । नेपालमा साउन १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने मन्त्रालय बताउँछ । त्यसपछि पनि निरन्तर आवश्यक खोप आउनेछ ।
साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।हाल ५५ वर्षमाथिका नागरिकहरूलाई खोप लगाउने कार्य जारी भए पनि खरिद गरिएको चिनिया खोप आउन केही ढिला हुनुभएपछि शुक्रवारबाट उपत्यकाको खोप कार्यक्रम स्थगित गरिएको छ । रेडियो नेपालबाट