लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । नेपाल तरुणदल अर्घाखाँचीको संगठन विस्तारलाई लिएर विवाद देखिएको छ । अधिवेशनको मुखमा आएर अधिवेशननै प्रभावित पार्नेगरी गरिएको एकलौटी संगठन विस्तार र पदाधिकारी नियुक्तीमा आपत्ती जनाउँदै तरुणदलकै पदाधिकारीहरुले आपत्ती जनाएका हुन् ।
मंगलवार एक विज्ञप्ती जारी गर्दै तरुणदलका युवाहरुले विधीविधान विपरितको कार्य अविलम्ब रोक्नुपर्ने बताएका छन् । आफ्ना गतिविधी तत्काल नसच्चाए जुनसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तीमा भनिएको छ । तरुणदल जिल्ला उपाध्यक्ष रोशन पाण्डे, जिल्ला सचिव सुदिप ज्ञवाली, जिल्ला कोषाध्यक्ष केयर सिंह खनाल, क्षेत्र नम्बर२ का क्षेत्रिय सभापती मोतिराज न्यौपाने, तरुणदल सन्धिखर्क नगर अध्यक्ष जमशेर मियाँ, शितगंगा नगर अध्यक्ष विमल गरौंजा, मालारानी गाउँपालिका अध्यक्ष लिलामणी पोख्रेल, छत्रदेव गाउँपालिका अध्यक्ष नरेन्द्र पौडेल, पाणिनी गाउँपालिका अध्यक्ष लक्ष्मण पाण्डेको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा अलोकतान्त्रिक र अस्वभाविक गतिविधी भएको भन्दै पार्टी अधिवेशनको मुखमा यस्ता क्रियाकलाप बन्द गर्नुपर्ने उल्लेख छ ।
तरुणदल सन्धिखर्क नगर अध्यक्ष तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश तरुण विभाग सदस्य जमशेर मियाँले तत्काल निर्णय नसच्चाए आफुहरु गम्भिर कदम चाल्न बाध्य हुने बताए । ‘संगठनका आफ्नै नियम र पद्दती हुन्छन्, उनले भने,‘एकलौटी र मनपरी भएको छ, यसमा हाम्रो गम्भिर आपत्ती छ ।’ गौरवशाली संगठनलाई धमिल्याउने काम भएको उनको भनाई छ ।
तरुणदल जिल्ला अध्यक्ष नारायण खड्काले केहीदिन अँघी कार्यसमिती सचिवमा अर्जुन पोख्रेललाई मनोनित गरेका थिए । पार्टी अधिवेशनको मिती तोकिएको अवस्थामा अध्यक्ष खड्का सहितको टिमले भुमिकास्थान नगरपालिका सहित पाँच वटा पालिकामा संगठन विस्तार गरेका थिए । गएको सोमवार मात्र जिल्ला उपाध्यक्ष र केही सदस्य समेत मनोनित गरेका थिए ।
तरुणदलको विधान विपरितका कार्यहरु रोक्न उनीहरुको माग छ । जिल्ला कार्यसमितीकै पदाधिकारी र पाँच वटा पालिकाप्रमुखहरु बाटै विज्ञप्ती आउनुलाई गम्भिर ढंगले हेरिएको छ । माउपार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएका बेला तरुणदलमा विवाद देखिनु पार्टीका लागी गतिलो संकेत देखिएको छैन ।