एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए


काठमाडौं, साउन ८ । प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिनुभएको छ । सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएको जानकारी उहाँले दिनुभएको हो ।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मत लिनुभन्दा अघि रावलले सांसद पदबाट राजीनामा दिनुभएको थियो । अनैतिक राजनीतिक खेलमा आफू संलग्न नहुने भन्दै रावलले राजीनामा घोषणा गर्नुभएको थियो ।
रावलले दिएको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गर्नुभएको थिएन भने एमाले पार्टीका नेता–कार्यकर्ताले फिर्ताका लागि दबाब दिइरहेका थिए ।
राजीनामा फिर्ता लिनका लागि पार्टी अध्यक्ष केपी ओलीका साथै नेता माधव नेपालले दबाब दिनुभएको थियो । नेता नेपालले त रावल निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
रावल अछामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
शुक्रबार संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिँदै रावलले आफ्नो कारण दुःख भएकामा सभामुखसँग क्षमायाचना पनि गरेको सभामुखको सचिवालयले जनाएको छ । इमेज च्यानलमा समाचार छ ।