अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौँ (अर्घाखाँचीडट्कम) । नेकपा एकता भंग भएपछि एमालेमै रहेर मन्त्री बनेका अर्घाखाँचीका टोपबहादुर रायमाझी सहित माओवादी केन्द्रका चार नेताहरुले आफूहरु निर्वाचित भएकै दलमा रहेकाले सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका छन्।
माओवादीले निष्काशन गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह र गौरिशंकर चौधरीले आफूहरु निर्वाचित भएकै दलमा रहेको भन्दै सांसद पदबाट निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय र त्यसलाई सदर गर्ने संसद सचिवालयको निर्णय बदरको माग गरेका हुन्।
नेकपा विघटन भएपछि एमालेमै बसेर उनीहरु केपी शर्मा ओली सरकारमा मन्त्री बनेका थिए। माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्काशन गरी सांसद पदसमेत खारेज गर्ने निर्णय गरेको थियो। माओवादीको सो निणर्य संसद सचिवालयले सदर गरेपछि उनीहरुको सांसद पद गुमेको थियो।
तर उनीहरुले बुधबार सर्वोच्च अदालतमा गएर आफूहरु माओवादी नै रहेको र सांसद पद खारेज गरेको भनेर माओवादी केन्द्रले गरेको निर्णय र संसद सचिवालय सदर खारेज गर्न माग गर्दै रिट दर्ता गरेका हुन्। उनीहरुले आफूहरुको सांसद पद यथावत राख्न माग गरेका छन्। सो रिटको पहिलो पेशी बिहीबार राखिने भएको छ।
केही दिन पहिले यी चार नेताहरु माओवादी केन्द्रको वैधानिकता सकिएको भन्दै वैधता शून्यमा झार्न माग गरी निर्वाचन आयोग पनि गएका थिए।
टोपबहादुर रायमाझीले बुधबार दायर गरेको रिटमा आफू माओवादी केन्द्रमै भएको रेकर्ड निर्वाचन आयोगमा रहेको भन्दै कारवाही बदरको माग गरेका छन् । उनले आफूले दल परिवर्तन गरेको भन्दै गरिएको कारवाही पनि झुठा भएको दावी गरेका छन्।
‘म निवेदकले अर्को दल गठन गरेको पनि छैन,’ उनको रिट निवेदनमा उल्लेख छ, ‘मिति २०७८/३/२३ मा निर्वाचन आयोगमा निवेदन गरी ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको नाम लिष्टको प्रमाणित प्रतिलिपि उतार गरी लिएकोमा मिति २०७८/३/२३ को आयोगको रेकर्ड अनुसार म नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्यमा छु । ने.क.पा. एमालेको केन्द्रीय कार्यसमितिको लिष्टमा छैन।’
दल परिवर्तनको आरोप झुट्टा भएको भन्दै उनको भनाइ छ, ‘दुवै आयोगबाट प्रमाणित लिष्ट आयोगको मिति २०७८।३।२३ को प.सं. ०७७१७८ च.नं. २५९ को पत्र साथ मलाई प्राप्त भएका र पत्र तथा दुवै दलको लिष्ट निवेदन साथ पेश गरेको छु । यस कारण दल परिवर्तन गरेकै छैन । झुट्टा आरोप लगाई गरेको कारवाही बदर गरी पाउँ।’