शोकमा रहेको किमडाँडामा साउन २२ गतेसम्म निषेधाज्ञा जारी, ओहोर दोहोर गर्न प्रतिबन्ध


अर्घाखाँचीडट्कम संवाददाता 
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शोकमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ किमडाँडाले साउन २२ गतेसम्म निषेधाज्ञा जारी राख्ने भएको छ। जिल्लाभर भने दशौ पटक थपिएको निषेधाज्ञा साउन २० गते आईतबार राती १२ बजेसम्म जारी रहने छ ।   
किमडाँडामा एम्बुलेन्स बाहेक सबै भित्र निजी तथा सार्वजनिक सवारी साधन चल्न बन्द गरिएको छ । अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ६ बजेदेखि बिहान ९ बजेसम्म खोल्न दिईने भएको छ । 
यस्तै  सभा, गोष्ठी, सम्मेलन गर्न परेमा वार्डको अनुमती लिन पर्ने छ । भने एक टोलबाट अर्को टोलमा ओहोर दोहोर गर्न पाईने छैन् । 
वडाध्यक्ष इश्वरी प्रसाद भुसालको आईतबार कोरोना संक्रमणका कारण निधन भएपछि सन्धिखर्क शोकमा डुबेको छ  ।  यस्तै आज ११ गतेदेखि १५ गते सम्मको लागि पकले बजार बन्द गरिएको छ ।
वार्ड अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा  आइतबार मृत्यु भएको  थियो ।
भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि  जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए । भुसालको अबस्था गम्भीर बनेपछि साउन ७ गते बुधवार साँझ ५ बजे हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
उता किमडाँडामा कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन घटेको छ । 
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जनजीवन अत्यन्त कष्टकर भएको छ । 

अन्य समाचारहरु