अर्घाखाँचीका टोपबहादुर रायमाझी अब एमालेमा नै रहने, संगठन विभागको सदस्यमा चयन


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौँ (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका टोपबहादुर रायमाझीले आफू निर्वाचित भएकै माओवादी केन्द्र दलमा रहेको बताई सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै सर्वोच्च अदालत रिट दायर गरेता पनि पुन: नेकपा एमालेको संगठन विभागको सदस्यमा अनुमोदन भएका छन् । 
टोपबहादुर रायमाझीलाई एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन विभागको सदस्यमा अनुमोदन गरेको हो ।  
सर्वोच्च अदालतले सोमबार माओवादी छाडेका टोपबहादुर रायमाझी सहित चार सांसदको पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 
माओवादीले निष्काशन गरेका टोपबहादुर रायमाझी सहितका नेताहरुले गत श्रावण १३ गते बुधवार आफूहरु निर्वाचित भएकै दलमा रहेको भन्दै सांसद पदबाट निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय र त्यसलाई सदर गर्ने संसद सचिवालयको निर्णय बदरको माग गरेका थिए । 
टोपबहादुर रायमाझीले दायर गरेको रिटमा आफू माओवादी केन्द्रमै भएको रेकर्ड निर्वाचन आयोगमा रहेको भन्दै कारवाही बदरको माग गरेका थिए । उनले आफूले दल परिवर्तन गरेको भन्दै गरिएको कारवाही पनि झुठा भएको दावी गरेका थिए । 
‘म निवेदकले अर्को दल गठन गरेको पनि छैन,’ उनको रिट निवेदनमा उल्लेख छ, ‘मिति २०७८/३/२३ मा निर्वाचन आयोगमा निवेदन गरी ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको नाम लिष्टको प्रमाणित प्रतिलिपि उतार गरी लिएकोमा मिति २०७८/३/२३ को आयोगको रेकर्ड अनुसार म नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्यमा छु । ने.क.पा. एमालेको केन्द्रीय कार्यसमितिको लिष्टमा छैन।’
दल परिवर्तनको आरोप झुट्टा भएको भन्दै उनको भनाइ छ, ‘दुवै आयोगबाट प्रमाणित लिष्ट आयोगको मिति २०७८।३।२३ को प.सं. ०७७१७८ च.नं. २५९ को पत्र साथ मलाई प्राप्त भएका र पत्र तथा दुवै दलको लिष्ट निवेदन साथ पेश गरेको छु । यस कारण दल परिवर्तन गरेकै छैन । झुट्टा आरोप लगाई गरेको कारवाही बदर गरी पाउँ।’
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार अन्तरिम आदेश दिदा एमाले प्रवेश नगरेको दाबी गरेका रायमाझी ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकमा उपस्थित थिए ।