अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरी गरेको आरोपमा प्रहरीले नावालक सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले मंगलवार सन्धिखर्क लगायतका बजार ४ क्षेत्रमा चोरी गरेको आरोपमा चाँदी, ल्यापटप, मोबाईल, रिचार्ज कार्ड सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार असार ३ गते सन्धिर्खक नगरपालिका वार्ड नं-११ डिभर्नाको जोगिमारेका राज कुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप लगाएतका सामान, साउन ८ गते बुद्धि बहादुर सेजवालको किराना पसलबाट बिभिन्न किराना सामानहरु, साउन ५ गते हिम बहादुर सेजवालको किराना पसलबाट ५० आईटमका किराना सामानहरु, साउन जोगिमारे घर भै हाल सन्धिखर्क नगरपालिका वार्ड नं. १ बैंकरोडमा पसल गरी बस्ने बावुराम नेपालीको पसलबाट २ वटा पुरानो ल्यापटप २५ वटा पुराना मोबाईलहरु, १५०० को रिचार्ज कार्ड लगाएतका अन्य सामानहरु गरी ४ स्थानमा चोरी भएका थिए ।
यस्तै चोरी भएको रिचार्ज कार्डको प्रयोग भएको मोबाईल नम्बरहरु पत्ता लगाई उक्त चोरीमा संलग्न चोर र चोरी भएका दशी सामानहरु डिभर्नाका २६ वर्षिय किशन नेपाली र १८ वर्षिय रोसन नेपालीको घरबाट बरामद गरी चोरीमा संलग्न रहेका ४ जना नावालक १७ वर्षिय १ जना, १५ वर्षिय १ जना, १३ वर्षिय १ जना, १२ वर्षिय १ जना सहित ६ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
साथै चोरी मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ । भने सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गईरहेकोले सजग रहन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।