गंगा ज्ञवाली
कीर्तिपुर काठमाडौं
असह्य पीडा अप्राप्य घाउ
अदृश्य शत्रु
सुटुक्क आयो च्याप्प छोप्यो
हनहनी ज्वरो कडायो
बस्दै नबस्ने सम्झौता गरे जस्तै
फुट्ला जस्तै टाउको दुखायो
उपचार विहिन जस्तै
शरीर दुखायो मन दुखायो
छाती दुखायो मुटु फुट्ला जस्तै
सबै भन्दा भिन्दै बनायो
एकल बास मा लगेर थेचार्यो
महिनौ महिना संपर्क विहिन बनायो
मानव मानव बीचमा दूरी लगायो
आफूलाई आफैं संग कमजोर गरायो
त्यसैले त विश्व ठप्प पारेको रहेछ
जब्बर रहेछ अनुमान गर्नै नसकिने
मैले त छुन्न भनेकी थिए नी तर
आयो च्याप्प समाउन अनि ढलाउन
अछुतो हुन सकिएन हरायो
कति बलवान रहेछ तनी
सजिलै बाच्न पनि
अनि सजिलै ……
कठोर जीवनका पलहरु
असह्य पीडा अदृश्य घाउ
आफू मात्रैमा सीमित भए पो
सोत्तर पार्ने परिवारलाई
कुरौटेले कान भरे जस्तै
सल्बलाउदै सल्बलाउदै
एक बाट दुई दुई बाट सबै
सबै सबैलाई गलाउँदै ढलाउँदै
विश्व भ्रमणमा कुदिरहेछ
आफ्नै रफ्तारमा भगिरहेछ
सबैलाई ढलाउँदैं गलाउदै
अनि सकेसम्म जीवन समापन गराउँदै
खै यस बाट मुक्ति कहिले र कसरी पाइएला ????