अजय के.सी
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानी अब खरकाे छाना मुक्त भएको छ ।
गरिब, दलित, अपाङ्ग, पिछडिएका परिवारलाई खरको छाना मुक्त बनाउने अभियान अन्तरगत धारापानी अब खरकाे छाना मुक्त भएको हो ।
यहाँ घरको छानो खर र परालका भएका ४९ घरधुरीमा जस्ता पाता (टिन) लगाइएको वार्ड कार्यालयले अर्घाखाँचीडट्कमलाई बतायो । खरको छाना हटाउन रकम नगरसभाबाट विनियोजन गरिएको थियो ।
खरका छाना भएको कारण आगलागीको जोखिम हुने, वर्षामा पानी चुहिने भएकोले धारापानीलाई खर छाना मुक्त वार्ड बनाउने निर्णय गरेको थियो । घरका छानामा खर र पराल हटाएर जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्य समेत बढ्ने र परबाट हेर्दा धनी र गरीबको अवस्था समेत नछुट्टिने वार्ड कार्यालयको भनाई छ ।
पैसा अभावमा खरको छानो चुहिएर बर्खा कष्टका साथ बिताउँदै आएका गरिबलाई भने ठूलो राहत भएको छ ।