अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन शुरु, अब जिल्ला बाहिर जान नपर्ने (भिडियो, फोटो सहित)
श्रावण २६ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्ट संचालनमा आएको छ ।
जिल्ला अस्पताल परिसरमा निर्माण भएको प्लान्टमा आज मंगलवारबाट अक्सिजन उत्पादन शुरु भएको हो ।
संघिय सरकारको बजेट मार्फत निर्माण गरिएको अक्सिजन प्लान्ट संचालन आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले जानकारी दिए । दैनिक ७० वटा ठुला सिलिन्डर भर्ने सकिने भएको हुँदा अब अक्सिजन भर्न जिल्ला बाहिर जान नपर्ने डाक्टर गौतमले जानकारी दिए ।
प्लान्टले दिनमा ७० वटा सिलिण्डर भर्ने क्षमता राख्छ । गत बैशाख, जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितीका अध्यक्ष श्रीकृष्ण भुसालले बताए ।
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । प्रविधी ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ८४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो।