जेन्सी, साउन ३१ । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ ।
राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण मानिएको शहर जलालबाद कब्जा गरेका हुन् ।
तालिबानी लडाकुले बिना रक्तपातपूर्ण युद्ध बिना नै जलालबाद आइतबार बिहान कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यहाँका गभर्नरले आत्मसमर्पण गरेलगत्तै शहर तालिबानको कब्जामा गएको हो ।
अफगानिस्तान सरकारको नियन्त्रणमा रहेको प्रमुख र महत्वपूर्ण शहर राजधानी काबुललाई लडाकुहरुले चारैदिशाबाट घरेका छन् । देशका बाँकी भाग नियन्त्रणमा लिएका तालिबानको डरले शरण खोन्दै राजधानी काबुल आइपुगेका शरणार्थीहरु यो खबरले बिचलित बनेका छन् ।
जलालबाद राजधानी काबुलका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण शहर मानिन्छ । पाकिस्तानको पेशावर शहरसँग जोड्ने रणनीतिक राजमार्ग यही भएर जान्छ । यसअघि, लडाकूले उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका थिए ।
पछिल्लो हिंसाका कारण साढे दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सन् २००१ देखि अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नेटो सैनिकले धमाधम अफगानिस्तान छाडिरहेका छन् ।