अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को पटुवाथुममा खुल्ला आकास रात कटाउदै आएका गरिब तथा पिछडिएका परिवारलाई जस्ता पाता (टिन) लगाउन आर्थिक सहयोग अभियान संचालन गरिएको छ ।
पटुवाथुममा खुल्ला आकास रात कटाउदै आएका सेते कुमाल र प्रेमा श्रेष्ठको परिवारलाई सामाजिक अभियान्ताहरुले घर मर्मत र जस्ता पाता (टिन) लगाउन आर्थिक सहयोग अभियान संचालन गरेका हुन् ।
लामो समयसम्म पनि सन्धिखर्क नगरपालिकाले वेवास्ता गरेपछि पीडितहरुको घरमा जस्ता पाता लगाउन गोमा सापकोटा रेग्मी, सचिन पाण्डे, बिष्णु सुबेदी लगायतका सामाजिक अभियान्ताहरुले आर्थिक सहयोग अभियान संचालन गरेका छन् ।
वर्षाको बेला कुमाल र श्रेष्ठले छानोमा पलास्टिक लगाएता पनि घर भातिएर खुल्ला आकास मुनि बस्न वाध्य भएका छन् ।
उता सामाजिक अभियान्ताहरुले सहयोग अभियान चलाएपछि सन्धिखर्क नगरपालिकाले पीडित परिवारको घरमा टिन लगाउनको लागि प्रकृया अगाडि बढेको बताएको छ । नगरले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी मुजुल्का समेत तयार गरि तत्कालै सन्धिखर्क नगरपालिकाको कार्यालयबाट जस्तापाता टिन उपलब्ध गराउने तयारी गरेको बताएको छ ।
सेते कुमाल र प्रेमा श्रेष्ठको परिवार सन्धिखर्क नगरपालिकामा लामो समयदेखि टिनका लागि निवेदन दिएका थिए । उनिहरु पटक-पटक सन्धिखर्क नगरपालिका धाउदा पनि कसैले उनिहरुको पिडा सुनेका थिएनन् ।
नगरले समयमा टिन उपलब्ध नगराउदा सेते कुमालको घर भत्किएको थियो । यस्तै छानोमा पलास्टिक लगाएपनि प्रेमा श्रेष्ठको घर भत्किन आटेको छ । तसर्थ सामाजिक अभियान्ताहरुले उनिहरुको घर बनाईदिने गरी आर्थिक सहयोग अभियान संचालन गरेका छन् । उनिहरु नगरले टिन दिनेमा आशावादी छन् । तर नदिए टिन पनि लगाइदिने बताएका छन् ।
गरिब, दलित, अपाङ्ग, पिछडिएका परिवारलाई खरको छाना मुक्त बनाउने अभियान जारी गरेको सन्धिखर्क नगरपालिकाले अहिलेसम्म पहुच हुनेलाई मात्र जस्ता पाता (टिन) बाढेको आरोप लाग्दै आएको छ ।
जिल्लाका सामाजिक अभियान्ताहरु गोमा सापकोटा रेग्मी, सचिन पाण्डे, बिष्णु सुबेदी, सुभाष ज्ञवाली लगायतले जिल्लामा गरिब, दलित, अपाङ्ग, पिछडिएका परिवारको स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् । यस्तै जिल्ला अस्पताल, स्वास्थ्य चौकीमा पनि सवस्थ्य सामाग्री जुटाएर सहयोग गरेका देखिन्छन् ।