अर्घाखाँचीमा देउराली यातायातद्धारा सवारी साधन चलाऊन दिन माग | भाद्र ८ गतेपछि सबै खोल्ने तयारी


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जारी रहेको निषेधाज्ञाका कारण व्यवसाय चौपट भएको भन्दै देउराली यातायात अर्घाखाँचीले सवारी साधन चलाऊन दिन माग गरेको छ । 
देउराली यातायात अर्घाखाँचीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाउदै मापडण्ड पालना गरी सम्पूर्ण सवारी साधन चलाऊन दिन माग गरेको हो । 
देउराली यातायात अर्घाखाँची प्रा.लिका अध्यक्ष गोबिन्द प्रसाद बन्जाडेको टोलीले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापनपत्र बुझाएको थियो । उनिहरुले यातायातमा कार्यरत कर्मचारी, चालक, सहचालक,सवारी धनीलाई जारी रहेको निषेधाज्ञाका दैनिक छाक टार्नै मुस्किल भएको, बैंकको किस्ता तिर्न नसकिएको बताएका छन् । 
 
उता जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।
नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण जारी रहेको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।
अर्घाखाँचीमा १२ औं पटक भाद्र ८ गतेसम्म निषेधाज्ञा थपिएको छ ।  गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । 
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको छ । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको छ । 
गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार  तथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको देखिन्छ । 
सन्धिखर्क -१ का भेष बहादुर मुखिया भन्छन्; “बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ” । निषेधाज्ञाले लामो समयदेखि गर्दै आएको परम्परागत पेशा लामो समय ठप्प भएकोले खर्च जुटाउनै सकस भएकोे समस्या उनले बताउन्छन् । 
सन्धिखर्क व्यापारी कृष्ण भुसाल भन्छन्; “निषेधाज्ञापछि व्यवसाय पूर्णरूपमा ठप्प भएपछि परिवारको लालनपालनका साथै औषधि उपचार गर्न समेत अप्ठ्यारो भएकोे छ ।  निषेधाज्ञाका कारण औद्योगिक, यातायात, निर्माण तथा बजार क्षेत्रमा काम गरेर खाने मजदुर बढी प्रभावित भएका छन् । अब भाद्र ८ गतेपछि बजार नखोले हामीले आँफै व्यवसाय खोल्छौ ।” सरकारी कर्मचारी, ठुला व्यापारी, नेताहरुलाई मोज भएको छ निषेधाज्ञाले । जनताको कोरोनाले होइेन भोकले ज्यान जान लाग्यो।”
उता निषेधाज्ञा खुकुलो बनाउँदै सार्वजनिक यातायातका साधन सञ्चालनमा अनुमति दिन सबै  यातायात व्यवसायीहरुले माग गरेका छन् । उनिहरुले भाद्र ८ गतेपछि जिल्ला भित्र र बाहिर यातायात चलाऊने तयारी गरेका छन् । छिमेकी जिल्ला रुपेन्देही, कपिलवस्तु सबै जिल्लामा सबै खुलेका छन् । अर्घाखाँचीमा पनि जिल्ला भित्र, बाहिर खोल्न दिनुपर्छ, उनिहरु भन्छन्।”     
जिल्लामा लकडाउन तथा निषेधाज्ञाका कारण सबैभन्दा बढी यातायात र होटल व्यवसाय प्रभावित भए पनि यसतर्फ सरकारले कुनै चासो नदिएको व्यवसायीहरुको गुनासो छ । ‘एकातिर बैंकमा चक्रीय ब्याज तिर्नुपरेको छ, अर्कोतिर कामदार कसरी पाल्ने भन्ने उनिहरुको चिन्ता छ,’ । सरकारले कम्तीमा चक्रीय ब्याज मिनाहा गरिदिए ठूलो राहत हुने उनिहरुको भनाई छ ।
जिल्लाका सम्पूर्ण व्यवसायीहरुले निषेधाज्ञा भन्दा खोप ल्याउन तिर ध्यान जाहोस्, भन्दै अब १८ वर्ष माथि सबैलाई खोप लगाउन माग गरेका छन् ।