अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जारी निषेधाज्ञा फेरि आगामी भाद्र १८ गते शुक्रबारसम्म थपिएको छ ।
डिसिसिएमसी अर्घाखाँचीको बैठकले १३ औं पटक पुन: आजदेखि आगामी भाद्र १८ गते शुक्रबार राती १२:०० बजेसम्म निषेधाज्ञा थपेको हो । भने जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात र पसलहरु बिहान ५ बजेदेखि वेलुका ६ बजेसम्म खुल्न दिने भएको छ ।
हाेटल, रेष्टुरेन्टहरुले प्याकेजिङ वा टेक अवे सेवा गर्न पाउनेछन् । यस्तै सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिने बताइएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिने भएको छ ।
यस्तै सभा, गोष्ठी, सम्मेलन, मठमन्दिर, पार्टी प्यालेस लगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।
जिल्लामा विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।