अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रशासनले बुधवारदेखि साँझ ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । साथै पसलहरु पनि साँझ ६ बजेपछि खोल्न रोक लगाईएको छ । यस्तो अवैज्ञानिक निर्णयको चौतर्फी विरोध भइरहेको छ । साँझ ६ बजे हिडडुल बन्द गरिएपनि अन्य समयमा बिहान साँझ बजारमा किनमेल गर्ने, मर्निङ वाक हिड्नेको भीड नै देखिन्छ । जसले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना गर्ने निश्चित छ ।
जिल्लामा जारी निषेधाज्ञा फेरि आगामी भाद्र १८ गते शुक्रबारसम्म थपिएको छ । डिसिसिएमसी अर्घाखाँचीको बैठकले १३ औं पटक निषेधाज्ञालाई निरन्तरता दिने गरी गरेको यस्ता निर्णयले कोरोना घट्ने भन्दा बढ्ने मात्रै देखिन्छ । साँझ ६ बजेबाट कोरोना संक्रमण बढ्ने तर अरुबेला नबढ्ने हो र भन्दै सामाजिक सञ्जालमा प्रशासनसँग प्रश्न गरिएका छन् ।
सामाजिक सञ्जालमा धेरैले साँझ ६ बजेपछि कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भन्दै प्रश्न गरेका छन् । साँझ ६ बजेपछि अर्घाखाँची जिल्लामा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो ? अर्घाखाँचीमा अहिलेसम्म काठमाडौं, बुटवल अन्य शहरको लकडाउन मोडलिटी नक्कल गर्ने, बाहिर निषेधाज्ञा नियम जस्तो छ यहाँ पनि उस्तै गर्ने गरेको देखिन्छ । पहाडी जिल्लामा के-को लकडाउन, काठमाडौं, बुटवलमा निषेधाज्ञा गरे भन्दैमा यहाँ गर्नुपर्छ र ? भन्दै प्रश्न गरेका देखिन्छन् ।
राजनीतिक विश्लेषक तथा पत्रकार हरि भुसाल लेख्छन्; ” २०/३० जना सवार हुने बस चलाउन मिल्ने, कार्यालय र राजनितिक दलका गाेष्ठी, तालिम संघर्ष वा आन्दाेलन नराेकिने तर हाेटल तथा रेष्टुरेन्टहरुले २०/३० जनाकाे वैठक तथा सेमिनार गर्दा काेराेना सर्ने हुन्छ र ? कि त जिल्ला ठप्प पाराैँ, कि त काेभिडले थिलाेथिलाे भएका व्यवसायीहरु लाई स्वास्थ्य मापदण्ड र सावधानी अपनाएर सवैलाई चल्न दिओेैँ ।”
सामाजिक सञ्जालमा एक जना बिष्णु मरासिनीले लेखेका छन्; भुतमा परिणत भएर कोरोना भाइरस पनि साँझ ६ बजेपछि मात्रै आउने भएछ । उनले लेखेका छन्; साँझ ६ बजेपछि अर्घाखाँचीमा पसलहरु खोल्न नपाईने, सवारी साधन चलाउन नपाइनेमा बैज्ञानिक आधार के ? साँझ ६ बजेपछि कोरोना सर्ने हो ? बैज्ञानिक रुपमा पुष्टि नहुने यस्ता निर्णयहरुको सबैले आ आफ्नो ठाउँबाट जवाफ मागौं ।
यस्तै अर्का केशब भुसालले लेखेका छन्; “साँझ ६ बजे बज्दा नबज्दै सन्धिखर्क, चुत्राबेसी गाउँ सबै सुनसान भैसक्छ- साँझ परेपछि सन्धिखर्क, चुत्राबेसीबाट को जिल्ला बाहिर जान्छ,,, जाने गाडी पाउन मुस्किल हुन्छ-फेरिपनि ‘रातिमा लकडाउन’ गर्ने निर्णय गरेछ प्रशासनले-दिउसो भरि भाँडोभैलो रात परेपछिको चटक -अचम्म ।।”
बुद्धिजिवी तथा वरिष्ट समाजसेवी सहयोग बिसी लेख्छन्; ” यहाँका होटलमा एकैपटक २०-३० जना आउने होइनन।२-४ जना आएर खाँदा खासै केही फरक पर्दैन कि ? अर्को कुरा यहाँका होटलमा आउने भनेका त यहि तरकारी पसलमा सामान किन्ने बैकमा आएका ग्राहक त्यही गाडी चढेर आएका उपभोक्ता त होलान।यसरी एउटै प्रकृतिका ब्यबसायमा पनि यसरी काखा पाखा गर्नु न्यायोचित होइन ।यो निर्णय लाई सच्चाउनु पर्दछ।”
जिल्लाका यातायात, हाेटल, रेष्टुरेन्टहरु लगायतका व्यवसायीहरुले मापडण्ड पालना गरी सम्पूर्ण क्षेत्र खोल्न माग गरेका छन् । उनिहरुले सदाका लागि निषेधाज्ञा अन्त्य गर्न अनुरोध गरेका छन् । व्यवसायीहरुले निषेधाज्ञा भन्दा खोप ल्याउन तिर ध्यान जाहोस्, भन्दै अब १८ वर्ष माथि सबैलाई खोप लगाउन माग गरेका छन् ।
उता जिल्लालाई जनप्रतिनिधीहरुले समयमा खोप ल्याउन पहल नगरेको भन्दै जिल्लाबासीहरुबाट तिव्र आलोचना भएको छ । उनिहरु भन्छन्; जिल्लामा अहिले चाहिएको भनेको खोप हो, अर्घाखाँचीको तुलनामा अन्य जिल्लाले बढी खोप पाएका छन् तसर्थ तुरुन्त खोप ल्याउन पहल होस् ।
डिसिसिएमसी अर्घाखाँचीको बैठकले १३ औं पटक पुन: आजदेखि आगामी भाद्र १८ गते शुक्रबार राती १२:०० बजेसम्म निषेधाज्ञा थपेको छ । भने जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात र पसलहरु बिहान ५ बजेदेखि वेलुका ६ बजेसम्म खुल्न दिने भएको छ ।
हाेटल, रेष्टुरेन्टहरुले प्याकेजिङ वा टेक अवे सेवा गर्न पाउनेछन् । यस्तै सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिने बताइएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिने भएको छ ।
यस्तै सभा, गोष्ठी, सम्मेलन, मठमन्दिर, पार्टी प्यालेस लगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।
जिल्लामा विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।