भुमिकास्थान नगरपालिकामा २ करोड १५ लाख ८९ हजार रूपैयाँ सबैभन्दा बढी अनियमितता


भिम बिसी | राजन महत्रा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमध्ये भुमिकास्थान नगरपालिकामा सबैभन्दा बढी अनियमितता देखिएको छ । 
जिल्लाका सबै स्थानीय तहमा देखिएको बेरुजुमध्ये भुमिकास्थान नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको हो । लेखा परीक्षण हुँदा भुमिकास्थानमा २ करोड १५ लाख ८९ हजार रूपैयाँ बेरुजु देखिएको छ ।
१ अर्ब ५ करोड ३४ लाख ७३ हजार कुल रकम मध्ये २ करोड १५ लाख ८९ हजार बेरुजु देखिएको छ । २.०५ प्रतिशत रकममा बेथिती देखिएको हो । गत वर्ष नगरको बेरुजु अवस्था सुधारोन्मुख देखिएपनी यो वर्षको लेखा परिक्षणमा जिल्लाका ५ स्थानियतहलाई पछि पारेको छ ।
विकास निर्माणका काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको छ । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि भुमिकास्थान नगरपालिकाको बेरुजु बढेको हो ।
जिल्लाका  स्थानीय तहहरूमा ६ करोड ३९ लाख ३० हजार रूपैयाँ बेरूजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको ५८ ‍औं वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा उक्त रकम बेरूजु देखिएको हो। महालेखाले अर्घाखाँचीका स्थानीय तहमा कुल ७ अर्ब १ करोड ५९ लाख ८८ हजार रूपैयाँको लेखा परीक्षण गरेको थियो ।
छत्रदेवमा सबैभन्दा कम बेरूजु
७७ अंकका साथ स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कनमा अर्घाखाँचीका स्थानीय तहहरूमा सबैभन्दा अग्रपङ्तीमा रहेको छत्रदेव गाउँपालिकाले अर्घाखाँचीका स्थानीय तहमा सबैभन्दा कम बेरूजु निकाल्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त गाउँपालिकाको ९४ करोड ३२ लाख ७७ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा ३३ लाख ७ हजार रुपैयाँ मात्र देखिएको छ । जुन कुल परीक्षण रकमको ०.३५ प्रतिशत हुन्छ ।
त्यस्तै, ६ स्थानीय तह रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको ७० लाख १४ हजार रुपैयाँ, मालारानी गाउँपालिकाको १ करोड ३८ लाख १२ हजार रुपैयाँ, शितगंगा नगरपालिकाको १ करोड १६ लाख ५२ हजार रुपैयाँ र सन्धिखर्क नगरपालिकाको ६५ लाख ५६ हजार रुपैयाँ बेरूजु महालेखापरीक्षणको ५८ औं वार्षिक प्रतिवेदनले औंल्याएको छ । समग्रमा अर्घाखाँचीका स्थानीय तहहरूको कुल बेरूजु ६ करोड ३९ लाख ३० हजार रुपैयाँ देखिएको छ । जुन कुल परीक्षण रकमको ०.९१ प्रतिशत हो ।

अन्य समाचारहरु