अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा नेकपा एमालेले माधव नेपालको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) ले जिल्लाभर गर्न लागेको संगठन विस्तारलाई अबरोध गर्ने भएको छ ।
स्रोतका अनुसार नेकपा एमालेले एकिकृत समाजवादीले जिल्लाभर गर्न लागेको संगठन विस्तारलाई अबरोध गर्न आन्तरिक तयारी गरेको हो ।
यस्तै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष चेत नारायण आचार्यले एक विज्ञप्ती जारी गरी विभाजनकारी फुटपरस्त तत्वको भ्रममा नपर्न आग्रह गरेका छन् । विज्ञप्तीमा आचार्यले विभाजनकारी कार्यको घोर निन्दा गरेका छन् । तर उनले एकिकृत समाजवादीले जिल्लाभर गर्न लागेको संगठन विस्तारलाई लिएर उक्त विज्ञप्तीमा कुनै उल्लेख गरेका छैनन् ।
नेकपा एमालेले जिल्लाभरका पालिका, वार्डमा आफ्ना कार्यकर्तालाई अबरोध, प्रतिकार अभियान शुरु गर्ने तयारी गरेका छन् ।
उता अर्घाखाँचीमा नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटीमा ७० सदस्यीय रहने भएको छ । अर्घाखाँची जिल्लाबाट पार्टीको नेतृत्व रामबहादुर चौहानले गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीको गठन पश्चात जिल्लाका सबै क्षेत्रमा संगठन विस्तारमा गर्ने नेता चौहानले बताएका छन् ।
गत २०७७ चैत्र १४ गते शनिवार समानान्तर जिल्ला कमिटी गठन गरेको माधव पक्षले नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) दर्ता भएसँगै जिल्ला कमिटी ७० सदस्यीय नै बनाउने भएको हो ।
समानान्तर जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानले अर्घाखाँचीडट्कमलाई बताए अनुसार; “चैत्रमा सन्धिखर्कमा आयोजित व्यापक भेलाबाट गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीलाई नै नेकपा एकीकृत समाजवादीमा रुपान्तरण गरिने छ ।”
चौहानले भने; “जिल्लाका बहुमत नेता तथा कार्यकर्ताहरु हाम्रो पक्षमा हुनुहुन्छ । अब सबै पार्टी तथा जनसंगठनहरुलाई व्यवस्थित ढङ्गले अघि बढाइने छ । काठमाडौ र बुटवल लगायतका सबै ठाउमा रहेका सम्पर्क कमिटीहरुलाई व्यवस्थित गरिने छ ।”
साथै उनले भने: पार्टी कार्यालय तत्काल स्थापना गरिने छ । अर्घाखाँचीवासीको पक्षमा राम्रा कामहरू मात्र अघि बढाइने छ , नराम्रा कामहरु एउटा पनि गरिने छैन । सबै नेता कार्यकर्ताहरुलाई उहाँ हरुको योग्यता , क्षमता , लोकप्रियता र क्रियाशीलताको आधारमा कार्य विभाजन गरिने छ । काखा र पाखा गर्नेजस्तो पक्षपातपूर्ण र विभेदकारी प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गरिने छ । पार्टीलाई नयाँ जोश , जांगर , उर्जा र गतिकासाथ रचनात्मक ढंगले अघि बढाइने छ । पार्टी विभाजनको मुख्य नाइके ओली र ओली प्रबृत्तिको जनसमक्ष व्यापक रुपमा भण्डाफोर गरिने छ । अर्घाखाँचीको पार्टीलाई मुलुककै नमुना , अब्बल र फरक पहिचान सहितको पार्टीको रुपमा स्थापित गरिने छ । सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई विषेश ध्यान दिइने छ । संगठनात्मक सिद्धान्तलाई कडाइपूर्वक पालना गरिने छ । पार्टीभित्र बेला बखत देखापर्ने स्वार्थी , अराजक , व्यक्तिवादी , अवसरवादी र नारद प्रवृत्तिबिरुद्ध शुन्य सहनशीलता अपनाइने छ ।”
यस्तै अध्यक्ष चौहानले भने; “अर्घाखाँचीका सबै न्यायप्रेमी नेता , कार्यकर्ता तथा आदरणीय जनसमुदायहरु हाम्रो पक्षमा हुनुहुन्छ । कोहि पनि प्रतिगमनको पक्षमा लाग्नुहुन्न । अलमलमा पर्नु भएका कतिपय साथीहरुलाई मेरो विनम्र अनुरोध छ , समाजवादको यो महान अभियानमा एकताबद्ध भएर आफ्ना व्यक्तिगत स्वार्थहरुलाई थाती राखेर अघि बढौ । हामी आफुबिच केही सच्चिने र सच्च्याउनुपर्ने कुराराहरु छन् भने बसेर हल गर्न सकिन्छ , महशुस गर्न सकिन्छ । मुल राजनितीक मुद्दा हो । राजनीतिक मुद्दा मिलेपछि अरु कुरा गौण हुन् । ट्रेन गुडि सक्यो , यात्रामा नछुट्न आग्रह गर्नेहो , केही समय पर्खिने पनि हो । होइन , नियतबस कोही यो महान अभियानमा निर्ममतापूर्वक अघि बढ्न छोडेर ल्याङ्ग – ल्याङ्ग गर्छ , मस्न खोज्छ र निहु खोज्छ भने हाम्रो भन्नु केही छैन । यो महान अभियानलाई हामीले जीवन – मरणको रुपमा लिएका छौं किनभने बिनाकारण यो मुलुकमा नेकपा एमालेबाट निष्कासित हुने हामीलाई सुरु अवसर प्राप्त भएको छ । केही पात्रहरुलाई सङ्गठ्न बिस्तारमा प्रतीक्षा गरेका छौं । अब प्रतिक्षाको बाध टुट्ने बेला भयो । अब प्रतीक्षा गर्न सकिदैन । डटेर अघि बढिन्छ ।”