अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताल लगायत जिल्लाभरका खोप केन्द्रमा कक्षा १२ को परीक्षामा सहभागी सबै परिक्षार्थीका लागि कोरोना विरुद्धको खोप यही भदौ ११ गते शुक्रबार लगाईने भएको छ ।
जिल्ला अस्पताल लगायत जिल्लाका खोप केन्द्रमा १८ वर्ष माथिका सबै कक्षा १२ का परिक्षार्थीका लागि कोरोना विरुद्धको खोप भदौ ११ गते शुक्रबार लगाईने भएको हो । उनिहरुलाई परीक्षाको प्रवेश पत्र र नागरिकताको प्रमाणपत्रका आधारमा खोप लगाउन दिईने छ ।
साथै कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ ।
उता क्याम्पसका परिक्षार्थीलाई भदौ ८ गते कोरोना विरुद्धको खोप लगाईएको थियो ।
यस्तै जिल्ला अस्पतालको खोप केन्द्रमा कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ र ‘कोभिशिल्ड’ को पहिलो डोज लगाई दोस्रो मात्राको खोप लगाउन छुटेकाहरुलाई भदौ ४ र ५ गते लगाएको थियो ।
उता जिल्लाका सबै खोप केन्द्रमा अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
१८ वर्षभन्दा माथि १ लाख १४ हजार ७ सय ५ जना जनसंख्या रहेको अर्घाखाँचीमा हालसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जस अनुसार जिल्लामा १८ वर्षभन्दा माथिका ७७ हजार ९ सय ८८ जना खोप लगाउन पाएका छैनन् ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले दिएको जानकारी अनुसार जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका ९ हजार एकसय २५ जना कोभिसिल्ड र ११ हजार पाँचसय १ जना भेरोसेल खोपको पर्खाईमा छन्। जिल्लामा भारतीय खोप ‘कोभिशिल्ड’ को पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाएका छन्। त्यसमध्ये ३ हजार आठसय ९ जनाले दोस्रो मात्रा लगाइ सकेका छन्।
पहिलो मात्रा लगाएको चार महिना बितिसके पनि ९ हजार एकसय २५ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्। चाईनिज खोप ‘भेरोसेल’ को पहिलो मात्रा १४ हजार ६ सय ३३ जनाले लगाइ सकेका छन् भने ३ हजार एकसय ३२ जनाले दोस्रो मात्रा पनि लगाएका छन्। ११ हजार पाँचसय १ जना अहिले पनि दोस्रो मात्राको खोपको पर्खाइमा छन्।
अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ ९ हजार पाँचसय ५० जनाले लगाएका छन्।
उता जिल्लालाई जनप्रतिनिधीहरुले समयमा खोप ल्याउन पहल नगरेको भन्दै जिल्लाबासीहरुले तिव्र आलोचना भएको छ । उनिहरु भन्छन्; जिल्लामा अहिले चाहिएको भनेको खोप हो, अर्घाखाँचीको तुलनामा अन्य जिल्लाले बढी खोप पाएका छन् तसर्थ तुरुन्त खोप ल्याउन पहल होस् ।