अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको नेपाल कम्युनिष्ट पाटी (एमाले) को मदन आश्रित स्मृति भवन पार्टी कार्यालयको अंश पाउन नेकपा ( एकीकृत समाजवादी ) अर्घाखाँची अदालत जाने भनेको छ ।
एकीकृत समाजवादी अर्घाखाँचीले सन्धिखर्कमा रहेको मदन आश्रित स्मृति भवन एमाले पार्टी कार्यालयको अंश पाउन बैधानिक र कानुनी मार्ग अवलम्बन गर्ने भएको हो ।
समानान्तर कमिटीबाट रुपमान्तरण हुँदै गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष नेता रामबहादुर चौहानले अर्घाखाँचीडट्कमलाई भने; “त्यो रातो घरमा हाम्रो धेरै रगत पसिना लगानी भएको छ । हाम्रो रगत पसिनाको ढिलो चाडो मुल्य चुकाएरै छोडिन्छ । हाम्रो अंश लिएरै छाड्छौ ।” इन्द्रेको बाबु चन्द्रे आएपनि हामीलाई कसैले रोक्न सक्दैन । यत्रो बर्षसँगै राजनीति गर्दा सबैका नाडी छामिएको छ, सबैको तागत देखिएको छ र सबैका खुट्टी देखिसकिएको छ ।” जिस्क्याउने , निहु खोज्ने , हामीलाई तर्साउने , धम्काउन खोज्ने र भिडन्त निम्त्याए तिथिमिति तोकेर, हाकाहाकी ढङ्गले जिल्ला पार्टी कार्यालय हाम्रो नियन्त्रणमा लिइन्छ । होईन भने बैधानिक र कानुनी मार्ग अवलम्बन गरिन्छ । छुट्टीभिन्न भएपछि अंश पाउने हाम्रो नैसर्गिक अधिकार हो ।”
२०५४ सालमा निर्माण गरिएको उक्त मदन आश्रित स्मृति भवन एमालेको नियन्त्रणमा रहेको छ । भने एमालेको समानान्तर कमिटी (एकीकृत समाजवादी) ले आफ्ना बैठक, भेला, कार्यक्रम सन्धिखर्कका होटेलमा गर्दै आएको छ ।
उता एकीकृत समाजवादीको २०० सदस्यीय रुपान्तरण जिल्ला कमिटी बन्ने भएको छ ।
समानान्तर कमिटीका ७० जना एकीकृत समाजवादीमा विलिन भई अब २०० सदस्यीय जिल्ला कमिटी बन्ने भएको हो ।
समानान्तर कमिटीबाट रुपमान्तरण हुँदै गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष नेता रामबहादुर चौहानले अर्घाखाँचीडट्कमलाई भने; “अब बढिमा एक हप्ता भित्रमा नेकपा एमालेको अर्घाखाँची जिल्ला कमिटीलाई नेकपा (एकीकृत समाजवादी ) मा रुपान्तरण गर्ने तयारी भैरहेको छ । अब ७० सदस्यीय जिल्ला कमिटीलाई नेकपा ( एकीकृत समाजवादी ) मा रुपान्तरण गर्दा करीब २ सयको हाराहाराहारीमा बिस्तार गरी रुपान्तरण गरिने छ । सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ । केवल प्रक्रिया पुरयाउन र औपचारिकता दिन मात्रै बाँकी छ ।
यस्तै चौहानले भने; “अब जिल्ला कमिटी बिस्तार गर्दा अर्घाखाँची जिल्लाका सबै पालिका र वार्ड समेत समेटेर बिस्तार गरिने छ । त्यति मात्रै होईन, अब केही दिनमा जिल्लाका सबै पालिकामा पार्टीका पालिका कमिटी, धेरै जसो वार्डमा वार्ड कमिटी, अनेरास्ववियुको बृहत जिल्ला कमिटी, अन्य जनसंगठनका जिल्ला, पालिका र वार्ड कमिटी समेत बिस्तार गर्ने योजना तय भैसकेको छ ।”
उता एमालेले एकीकृत समाजवादीको संगठन विस्तारमा रोक्ने तयारी गरेको छ भन्ने प्रश्नमा चौहानले भने; “हाम्रो संगठन बिस्तारलाई बाधा पुरयाउने, रोक्ने र अबरोध गर्ने दिवा सपना कसैले नदेखे हुन्छ । सुपो ठटाएर हात्ती तर्साउने खेल नखेल्दा हुन्छ । यदि कसैलाई भिडन्त निम्त्याउने रहर छ भने पहिला तिथिमिति तोकेर टुडिखेलमा कुस्ती खेलौ, बल जाचौ र भिडन्तको तयारी गरौंला । हामी संबैधानिक अधिकारको प्रयोग गरेर गाउमा मात्रै होईन , संगठन बिस्तारको निम्ति जनताको घर- घर र व्यक्ति – व्यक्तिमा पुग्छौं ।
उनले भने; “हामी सित सम्बन्ध सुमधुर बनाउने कि बिगार्ने त्यो एमालेको हातमा छ । उसलाई रोजी हामीलाई छोडी । उ जसरी हामी सित प्रस्तुत हुन्छ , हाम्रो पार्टी त्यसरी नै प्रस्तुत हुन तयार रहेको व्यहोरा अनुरोध गर्दछु । साथै हाम्रो बाटो उज्ज्वल छ , हाम्रो उद्देश्य सफा छ । जनता हाम्रा साक्षात भगवान हुन । हामी जनता र राष्टप्रति सदैव उत्तरदायी छौँ । हामी सकेसम्म राम्रो मात्रै गर्छौ , यदी नसके नराम्रो गर्दै गर्दैनौ । यो नै हाम्रो प्रतिबद्धता हो । हामी सम्बन्ध बिगार्न चाहदैनौ ।”
उता अर्घाखाँचीले आगामी असोजको दोस्रो हप्तामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष माधव कुमार नेपाल सदरमुकाम सन्धिखर्कमा आउने भएका छन् ।
एकीकृत समाजवादी अर्घाखाँचीले आगामी असोजको दोस्रो हप्तामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष माधव कुमार नेपाल सदरमुकाम सन्धिखर्कमा आउने भएका हुन् ।
चौहानले अर्घाखाँचीडट्कमलाई बताए अनुसार असोज दोश्रो हप्ता भित्रमा जिल्ला सदरमुकाम सन्धिखर्कमा अगुवा कार्यकर्ता भेलालाई नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् माधव कुमार नेपाल लगायतका विशिष्ट व्यक्तित्वहरुद्वारा प्रशिक्षण दिने योजना तय गरिएको छ ।”
उक्त भेलामा २ ह्जार बढी अगुवा कार्यकर्ताहरु सन्धिखर्कमा उतार्ने तयारी पनि उक्त पार्टीले गरेको छ ।
यस्तै “नेकपा (एकिकृत समाजवादी)” पार्टीलाई एमालेले भन्दा पनि जिल्ला कै सबैभन्दा ठुलो र शक्तिशाली पार्टी निमार्ण गर्ने समेत अध्यक्ष चौहानले दावी गरेका छन् । साथै जिल्लाभर संगठन विस्तार गर्न लागेको एकीकृत समाजवादीलाई एमालेले रोकावट गर्ने भएको छ । कुनै वार्डमा पनि एकीकृत समाजवादीको कमिटी निर्माण गर्न नदिन अन्तरिक तयारी अनुसार एमालेले कार्यकर्ता परिचालन गरेको बताइएको छ ।