अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै ६ स्थानिय तहले बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन थाल्ने तयारी गरेका छन् ।
जिल्लाका सबै ६ स्थानिय तहले कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन थाल्ने तयारी गरेका हुन् ।
वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दै आएका स्थानीय तहले संक्रमण घट्दै गएपछि विद्यालय खोल्ने तयारी थालिएको बताएका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले विद्यालयहरू खोल्न शिक्षक र अभिभावकसँग छलफल गर्ने तयारी गर्ने बताएका छन् ।
जिल्लाका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले पनि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न लागिएको बताएका छन् ।
उता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ ।
जिल्लामा दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा फेरि १३ औं पटक आगामी भाद्र १८ गते शुक्रबारसम्म थपिएको छ ।
यस्तै जिल्लामा लामो समय विद्यालय बन्द भएको भन्दै स्थानीय तहका अभिभावकहरुले खोल्न माग गरेका छन् ।
लामो समय विद्यालय जान नपाएपछि पठनपाठनको मेलो नै बालबालिकाले बिर्सन थालेको भन्दै जिल्लाभरका अभिभावकहरुले खोल्न माग गरेका हुन् ।
जिल्लाका सबै पालिकामा कोरोना संक्रमण घट्दै गएको र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न उनिहरुको माग छ ।
मालारानी – ४ खनका अभिभावक हरि भुसालको भनाई छ; “अब नयाँ शैक्षिक सत्रको पठनपाठन गर्ने गरी सम्पूर्ण विद्यालय सञ्चालन गर्नुपर्छ।” उनले संक्रमण न्यूनीकरण कसरी हुन्छ, त्यसरी नै पढाइ गर्न जरुरी रहेको अर्घाखाँचीडट्कमलाई बताए ।
जिल्लाका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले पनि अवस्थाको विश्लेषणअनुसार नै पठनपाठनलाई अघि बढाउने तयारी गरिरहेको बताएका छन् । उनिहरुको भनाई छ; ‘सुरक्षाका सबै मापदण्ड पालना गरी पठनपाठन सुरु गर्ने तयारी थालेका छौं ।’
जिल्लामा लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका अभिभावकहरु बताउन्छन् । जिल्लामा विद्यालय बन्द भएपछि पढ्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् ।
सन्धिखर्क -१ का बिष्णु भुसालले भने; विद्यालय बन्द भएपछि छोरीले अचेल क, ख, समेत बिर्सेकी छन् । “राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो”, “साना बालबालिकाले छिटो बिर्सने रहेछन् । विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ ।” उनी भन्छन्; काममा जाँदा छोरी भुल्ने भनेको मोबाइल र टेलिभिजनमा हो । विद्यालय अझै नखुले छोराको पढाइ शून्यबाट सुरु गर्नुपर्ने देखिन्छ” । “विद्यालय नचलेपछि छोरी दिनभरि साना केटाकेटीसँग खेल्छ, न गृहकार्य छ ।
सरकारले विकल्पसहित पढाउन भने पनि अर्घाखाँचीमा अनलाइनमार्फत पढाउन निकै कठिन छ । सिमलपानीका अभिभावक हरि नेपालीले “विपन्न अभिभावकले अनलाइन कक्षामा सहभागी गराउन नसक्ने, विद्यालयले पनि त्यसरी पढाउने वातावरण नभएको बताउँछन् । “यहाँका सामुदायिक विद्यालयले अनलाइन कक्षा चलाउन सम्भव छैन, विद्यालय आफैँ सुविधासम्पन्न छैनन्”, उनी बताउँछन् “अभिभावक कतिपयका त मोबाइल नै छैन, कहाँबाट इन्टरनेटको पहुँमचा पुग्नु ? विद्यार्थीको भविष्य अन्धकारतर्फ जाँदैछ ।”
विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइसमेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाई नियमित नगर्ने जोखिम बढेको छ ।
भूमिकास्थान नगरपालिका -१ का सन्तोष खनालका छोरा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय बन्द भएपछि छोरा कमाउनका लागि भारत लागेका छन् । “लकडाउन भयो, छोराले खाली बस्नुभन्दा भारत जान्छु भनेर गयो, उतै नोकरी गर्न थालेको छ”, खनाल बताउँछन् “राम्रै नतिजा ल्याउँथ्यो, अब पढाइ छुट्यो । विद्यालय खुल्ने ठेगान छैन, छोरा अब पढ्दिन उतै कमाउँछु भन्छ ।”