अर्घाखाँचीमा एमाले र जसपाका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न भदौ २२ गतेसम्मको समयसीमा दिएको छ।  
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जिल्लाका सबै ६ स्थानिय निकायलाई पत्रचार गरी भदौ २२ गतेसम्मको समयसीमा सनाखत गर्न अनुरोध गरेको हो । 
उता अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट कोही पनि जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा सनाखत गर्न आएका छैनन् । 
नेकपा एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतन्त्रिक समाजवादी पार्टी बनेका छन्। 
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार दल विभाजनसम्बन्धी अध्यादेश अनुसार उनीहरुलाई दल रोज्ने समयसीमा दिइएको हो। अध्ययादेश अनुसार दल विभाजनको २१ दिनभित्र दल रोज्न पाउने सुविधा छ। नयाँ दल रोज्ने प्रदेश सभा सदस्यले २२ गतेसम्म सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिले सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्ने छ।