अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जारी निषेधाज्ञा भोली भाद्र १८ गतेबाट हटाउने तयारी भएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) अर्घाखाँचीको अब बस्ने बैठकले जिल्लामा जारी निषेधाज्ञा भोली भाद्र १८ गतेबाट हटाउने तयारी गरेको स्रोतले बताएको छ ।
साथै जिल्लाभरका विद्यालयहरु सञ्चालन गर्ने निर्यण स्थानिय तहलाई जिम्मा दिईने बताइएको छ । विद्यालयहरु सञ्चालन गर्न नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही
साथै अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात र सबै पसलहरु खुल्न दिने बताइएको छ ।
हाेटल, रेष्टुरेन्टहरु पनि खुल्ने छन् । यस्तै सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिने बताइएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिने भएको छ ।
यस्तै सभा, गोष्ठी, सम्मेलन, मठमन्दिर, पार्टी प्यालेस लगायत भीडभाडजन्य क्षेत्रमा अझै रोक लगाईने भएको छ ।
जिल्लामा विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । जिल्लामा १३ औं पटक भाद्र १८ गते शुक्रबार राती १२:०० बजेसम्म निषेधाज्ञा थपेको थियो । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।