बिष्णु कुमार आले
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६१ वार्डहरू मध्ये १९ वटा वार्डहरूमा नेपाली कांग्रेसको सर्वसहमतीबाट वार्ड सभापति चयन भएका छन् ।
नेपाली काङ्ग्रेसको जिल्ला सभापति बिष्णुप्रसाद खनाल (मुस्कान) का अनुसार ६१ वार्डहरू मध्ये १९ वटा वार्डहरूमा सर्वसहमतीबाट वार्ड सभापति चयन भएका हुन् ।
मुस्कानले सर्वसहमती जुट्न नसकेका ४२ वटा वडाहरूमा पनि सर्वसहमतीबाटै टुंगो लगाउने प्रयास भैरहेता पनि वडा सभापतिको आकांक्षी धेरै भएकाले समस्या भएको बताए । उनले भने,आज टुंगो लगाउन नसकिए पनि भोलि सम्म सबै वडामा वडा सभापति चयन गर्ने बिषय टुंगो लाग्ने छ । वडामा भएका क्रियाशिल सदस्यताको आधारमा न्युनतम १६ जना देखि अधिकतम ४६ जना सम्म क्षेत्रीय प्रतिनिधि छनौट हुने छन् । वडा अधिवेसनमा युवाहरू भन्दा पनि ६५ बर्ष माथीका वडा नेतृत्वमा आउने देखिएपछि युवापुस्तामा असन्तुष्टि देखिएको छ ।
शुक्रवार हुने वडा अधिवेशनको चहलपहल तीव्र देखिएको छ। चोक–चोक पाटी–पौवा, चौतारो, चियापसल सर्वत्र अधिवेशनकै चर्चापरिचर्चा छ । नयाँ नेतृत्व आउने भएपछी आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चाँसोको विषय बनेको छ।
पालीका र जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा वडामा नेतृत्वका लागी रस्साकस्सी बढेको छ। जिल्लाका ६ ओटा पालीका सभापतिका लागि पनि निकै रस्साकस्सी देखिएको छ । जिल्लाका प्रत्येक पालीकाहरूमा सभापति पदका लागि ३ जना देखि ९ जना सम्म आकांक्षी देखिएका छन् । पालीका सभापतिमा आकांक्षी धेरै देखिएपछि टुंगो लगाउन समस्या हुने देखिएको छ । वडा सभापति लगायत विभिन्न पदका प्रत्यासीहरु उम्मेदवार घोषणा गर्दै आफ्नो पक्षमा माहोल मिलाउन दौडधुपमा जुटेका छन्। विभिन्न पेशा, व्यावसाय, रोजगारको शिलशिलामा काठमांडौ, बुटवल, दाङ लगायत जिल्ला बाहिर रहेका कांग्रेस निकटका कार्यकर्ता नेताहरू आफ्नो जिल्ला फर्किएर आफु निकटका पक्षमा मत जुटाउने पक्षमा कसरत गरिरहेका छन् ।
काङ्ग्रेसको क्रियाशिल सदस्यमा रौनकता देखिन्छ। उनिहरु सहमतीबाट नेतृत्व छान्ने, नभए निर्वाचनमा होमिने तयारीमा देखिन्छन्। सन्धिखर्क नगरपालिकाका १२, शितगंगा नगरपालिकाका १४, भुमिकास्थान नगरपालिकाका १०, पाणिनी गाउँपालिकाका ८, मालारानी गाउँपालिकाका ९ र छत्रदेव गाउँपालिकाका ८ वटा वडा गरी जिल्लाका ६१ वडामा आज शुक्रबार वडा सभापति पदको निर्वाचन हुँदै छ ।
निर्वाचन पछि वडाले नयाँ नेतृत्व पाउनुका साथै क्षेत्रिय प्रतिनिधी समेतको टुङ्गो लगाउने छ। जिल्लाभरबाट १ हजार ३ सय भन्दा धेरै क्षेत्रिय प्रतिनिधी निर्वाचित हुनेछन्। सन्धिखर्कबाट २ सय ८२, शितगंगाबाट २ सय ४४, भुमिकास्थानबाट १ सय ८०, मालारानीबाट १ सय ७४, पाणिनीबाट २ सय १८ र छत्रदेवबाट २ सय ४८ जना क्षेत्रिय प्रतिनिधी निर्वाचित हुनेछन् ।
वडा अधिवेशनको लागि निर्वाचन अधिकृत र मतदान अधिकृत सबै वडामा पुगिसकेका छन् । जिल्लामा १२ हजार २ सय ६९ जना काग्रेसका क्रियाशील सदस्यहरुले वडा अधिवेशनमा भाग लिंदै छन्। कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि पनि क्षेत्रीय प्रतिनिधिले मत हान्ने छन् ।
केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ ।
पालिकाको अधिवेशन भदौ २७ गते, प्रदेश क्षेत्र क र ख को अधिवेशन असोज १ गते हुनेछ । संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने कार्यतालिका बनेको छ।
जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ। यस्तै प्रदेश समितिको अधिवेशन कार्तिक १० देखि १२ गते हुने तय भएको छ भने केन्द्रीय अधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने छ । देशभरबाट नेपाली काग्रेसका ८ लाख भन्दा बढि क्रियासिल सदस्यहरूले वडा अधिवेशनमा भाग लिदै छन् । विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिना पछि सुरु हुन लागेको हो ।