विक्रम आचार्य | अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाभर बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन शुरु भएको छ ।
शितगंगा नगरपालिकामा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका धेरै जसो विद्यालयहरूमा आज आईतबारदेखि भौतिक उपस्थिति गराई पठनपाठन शुरु भएको हो ।
यहाँका सबै विद्यालयहरूमा सुरक्षाका सबै मापदण्ड पालना गरी एक बेन्चमा २ जना राखेर पठनपाठन शुरु गरिएको छ ।
पाँच महिनापछि विद्यालयहरू जाँदा विधार्थीहरु उत्साहित देखिएका थिए ।
शितगंगा नगरपालिकामा नगर शिक्षा समिती र शिक्षकहरुको पेशागत संगठनको बिहीवार बसेको बैठकले सम्पूर्ण विद्यालयहरूमा आज भाद्र २० गते आईतबारदेखि खुलाउने निर्यण गरेको थियो ।
साथै विधार्थीहरुलाई दिदै आएको दिवाभोजलाई पनि निरन्तरता दिएको छ ।
उता जिल्लाका शितगंगा नगरपालिका बाहेक अन्य स्थानिय तहले कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन थाल्ने तयारी गरेका छन् ।
वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दै आएका स्थानीय तहले संक्रमण घट्दै गएपछि विद्यालय खोल्ने तयारी थालिएको बताएका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले विद्यालयहरू खोल्न शिक्षक र अभिभावकसँग छलफल गर्ने तयारी गर्ने बताएका छन् ।
जिल्लाका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले पनि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न लागिएको बताएका छन् ।
उता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ ।
जिल्लामा दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा फेरि १३ औं पटक आगामी भाद्र १८ गते शुक्रबारसम्म थपिएको छ ।