अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले दल रोज्न दिएको अन्तिम दिनसम्म नेकपा (एकीकृत समाजवादी)मा ६ जनाले सनाखत गरेका छन् ।
जिल्लामा नेकपा (एमाले) छोडी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम लगायत शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाबाट निर्बाचित वार्ड सदस्य गोबिन्द प्रसाद पोख्रेल र शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीबाट निर्बाचित वार्ड सदस्य जिबलाल क्षेत्री, नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनी गाउँपालिका वार्ड नम्बर ३ का निर्बाचित वार्ड सदस्य ओमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की निर्बाचित महिला सदस्य शुमित्रा मुखिया, बाँगीका एमाले वार्ड कमिटी अध्यक्ष समेत रहेका मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीका वार्ड सदस्य डाल बहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टीमा सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गरेका छन् ।
उता जिल्लामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न आज भदौ २२ गतेसम्मको समयसीमा दिएको थियो ।
नेकपा एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतन्त्रिक समाजवादी पार्टी बनेका छन्।