अर्घाखाँचीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थाले


लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सापु रोगका बिरामी देखिन थालेका छन् । 
सेतो पुतलीलाई कारकको रुपमा मानिने सापु रोगका बिरामी देखिन थालेका जिल्ला आँखा अस्पताल सन्धिखर्कले जनाएको छ । मालारानी गाउँपालिकाका एक ९ महिने बालक सहित ८ जनामा सापु रोगको लक्षण देखिएको हो ।
आँखा उपचार केन्द्र अर्घाखाँचीबाट हालसम्म छ जना बिरामीलाई भैरहवामा रिफर गरिएको छ । जिल्लाको मालारानी गाउँपालिकाका एक जना ९ महिने बालक सहित तिन जना र गुल्मीको मदाने गाउँपालिकाका तिन जना गरेर ६ जनालाई रणअम्बिका आँखा अस्पताल भैरहवा रिफर गरिसकिएको आँखा अस्पतालका प्रमुख डा. सागर घिमिरेले जानकारी दिए । रोगको असर बढी देखिएकाले शल्यक्रिया गर्नुपर्ने ६ जना बिरामीलाई प्राथमिक उपचार गरेर रिफर गरिएको उनले बताए ।
सम्पर्कमा आएका थप दुई जना बिरामीलाई भने यहीं उपचार गरिएको छ । अर्घाखाँचीको मालारानीका एक जना र गुल्मीको मदाने गाउँपालिकाका एक जनाको जिल्ला आँखा अस्पताल, सन्धिखर्कमै उपचार गरिएको छ । ‘अप्रेशन गर्नुपर्ने जटिल बिरामीलाई भैरहवा रिफर गरिएको छ,उनले भने,‘रोग लाग्नासाथ आए यँही उपचार हुन्छ ।’
अहिले दैनिक तीन–चार जनाको सङ्ख्यामा सापु रोगसंग मिल्दोजुल्दो लक्षणका बिरामी आउने गरेको डा.घिमिरेले जानकारी दिए । ढिला भए आँखाको ज्योति नै गुम्न सक्ने भएकाले सापुको संका लाग्ने बित्तिकै तत्काल अस्पतालमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । ‘आफुखुशी औषधी तथा जरिबुटी राख्ने गरेको पाईएको छ,डा.घिमिरेले भने,‘हेलचक्राई गरियो भने आँखाको ज्योतीनै गुम्न सक्छ । संका लागे तुरुन्तै अस्पताल आउनुस् ।’