सहयोगी बिसी
फुदवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोटको फुदवाङ नजिकै रहेको बिधुत सबस्टेशनको निर्माणकार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
गत ३ वर्ष देखि निर्माण चरणमा रहेको १३२ केभी लाईनको सबस्टेशनको काम अब अन्तिम चरणमा पुगेको आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए। ‘हामी अब यो बर्ष भित्र नै काम सम्पन्न गरि विद्युत सेवा संचालनमा ल्याउने तयारीमा छौं,उनले भने,‘यो संचालनमा आएपछी बत्ती जाने समस्या हल हुन्छ ।’
सो स्थानबाट सन्धिखर्कमा विद्युत प्रवाह गरिने र प्राविधिक कारणबाट लाईन झ्याप्प झ्याप्प जाने समस्या समाधान हुने नेपाल विद्युत प्राधिकरण अर्घाखाँची शाखाका भोला पाण्डेले बताए। सेवाग्राहीहरुले विभिन्न कारणले लाईन जाँदा विद्युत प्राधिकरण प्रती गुनासो गर्ने गरेका छन् नी भन्ने प्रश्नमा उनले प्रतिक्रिया दिएनन् । ‘लाईन गएर घर अँध्यारो हुँदा हामी लाई सम्झने र गाली गर्नु स्वभाविकै हो, उनले भने,‘हामी ग्राहक लाई २४ सै घण्टा विद्युत सेवा दिन इमानदार रुपमा अहोरात्र खटेका छौ।’
जिल्ला भित्र प्युठानको झिमरुकबाट अर्घा धरमपानीमा रहेको ३३ केभी सबस्टेशनमा आएपछी विद्युत वितरण हुने भएकाले र झिमरुकले प्युठान, रोल्पा र अर्घाखाँचीमा लाईन दिनुपर्ने भएकाले ओभरलोडको समस्याले बत्ती गईराख्ने कार्यालयले जनाएको छ । बत्ती गईराख्नुमा कार्यालयको मात्र कमजोरी नभएर प्राविधिक समस्या भएकोले सबस्टेशन निर्माण तर्फ लागिएको हो ।
कपिलवस्तुको बनगाईबाट ठाडा-खाँची हुँदै फुदबाङ सबस्टेशनमा विद्युत आएपछि जिल्लामा विद्युत वितरण हुने हुँदा पुरानो समस्या नदोहोरिने प्राधिकरण अर्घाखाँचीका कार्यालय प्रमुख इन्जिनियर किरण खनालले बताए। फुदबाङ सहित अर्घाखाँचीको शितगंगाको अमराई, मालारानिको हंसपुरमा पनि योजनाको काम भैरहेको छ । दुर्गाफाँट सबस्टेशनबाट भने सेवा सुरु भैसकेको पनि कार्यालयले जनाएको छ।