विष्णु पन्थी (विनु)
म एक सुरमा हिँडिरहेकी थिएँ । शिक्षकको समय अड्कलेर हिड्नु पर्ने । कुनै दिन पनि राम्रोसँग ओथाएको खाना खान पाइने थिएन । आज पनि तात्तातो पेटनै जल्ने गरी खाएर द्रुर्त गतिमा बाटो नापिरहेकी थिएँ । हतारमा एकै सुरमा थिएँ । अलिकति दुरी कायम हुदाँ कोलाहल मात्र सुनिएको थियो । म जति नजिकीँदै गएँ त्यति स्पष्ट सुन्दै गएँ ।
ऊ रोइ रहेको थियो । अब पढ्छु के ! भयो ! दुख्यो । उउउउउ !
लौरोको आवाज डरलाग्दो तरिकाले बजिरहेको थियो । यो त दिल बहादुरको घर हो । मैले मनमनै भने ।
बुवाले भन्दै थिए ,”मैले तिमीहरुको लागि कति दुःख गरेको छु । वर्षौं मरुभूमिमा बसेर आएँ । रिजु सधै फस्ट हुन्छे । तँ ? बिहान भरी के —- — बसिस् । “गधा- – — -कति अप्रिय शब्द उच्चारण भैरहेका थिए । मैले सुन्नै नसक्ने गरी ।
” नपिट्नु त । कति सधै पिटिरहनु हुन्छ ? नपढे भारी बोकेर खान्छ । यसैलाई दु:ख हो । सधै पिटेर तह लाग्यो र ? ” आमाको जस्तो स्वर थियो ।
यसै त ढिलो भैरहेको थियो । आज यो सभ्य शहरको भव्य महलको कोलाहलले फेरि मलाई नै हेडसरको रुखो वचन खुवाउने भयो । म हतार हतार दौडिएँ । दश मिनेट ढिलो भयो । हेडसरले देख्नुभयो । केही बोल्नु भएन । आज त बँचियो । पचास प्रतिशत ढुक्क भएँ । मनको कुनामा पचास प्रतिशत लुकेको थियो ।
तीन बजेतिर पाले दाइले सूचना लिएर हस्ताक्षर गराउँदै आएको देखेँ । मेरो मुटु बाहिर नै भड्किन थालेको थियो ।
सूचना थियो , क्लास सकिएपछि मिटिङमा उपस्थित हुने ।
मिटिङ सुरु भयो । सहायक हेडसरले मिटिङको एजेन्डा प्रस्तुत गर्नु भयो ।
म पाँच कक्षादेखि आठ कक्षासम्मको डिपार्टमेन्ट हेड थिएँ । मलाई नै सङ्केत गरेर हेडसरले भन्नुभयो ,”हाम्रो बालमैत्री विद्यालय हो । केही गल्ती गरे हाम्रो बजारमा मसला बन्छ । आज सात कक्षाको अभिभावकको गुनासो छ । दिलबहादुरको बुवाले । ” फोन गरेर भन्नुभयो,” आज बालदिवसको दिन पनि तपाईंको शिक्षकले विद्यार्थीलाई पटक पटक तँ भनेर प्रश्न सोध्नु भयो । तपाईंको शिक्षक राम्रो भएनन् । राम्रो पढाइ पनि छैन ।अङ्ग्रेजी बोल्न नै जान्दैनन् ,तपाईंको शिक्षक । फिस मात्र महङ्गो ।” उहाँले मसँग धेरै गुनासो गर्नुभयो ।
(दिल बहादुर ! जसका कारण आज मेरो दश मिनेट ढिलो भएको थियो—— सर । )