चितवन । सौराहा प्रवेशसँगै रहेको होटल भिष्टा चितवनका संचालक रमेश सिलवाल अहिले व्यस्त देखिनुहुन्छ । करिव १५ महिना ताल्चा लागेर ठप्प रहेको होटलमा अहिले आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छुट प्याकेजसमेत दिएपछि पर्यटक आकर्षित भएको उहाँको भनाइ छ ।
सौराहा थकाली किचनका गोकर्ण गिरीको व्यस्तता पनि बढी रहेको छ । रेष्टुरेन्ट व्यवसायी गिरी आन्तरिक र केही वाह्य पर्यटकको आगमन सुरु भएको र तेस्रो पर्यटकीय गन्तव्य सौराहाले अव लय समात्नेमा ढुक्क हुनुहुन्छ । आन्तरिक पर्यटकलाई केन्द्र विन्दु बनाएर उहाँले पनि छुटका प्याकेज ल्याउनु भएको छ ।
सुविधा सम्पन्न होटल जंगल क्राउनमा पनि पर्यटकको आगमन ह्वात्तै बढेको छ । होटल जंगल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरीले फेष्टिभ, हनिमुन र एनिर्भसरी छुट प्याकेज सार्वजनिक गरेको बताउनु भयो ।
२०७६ सालको चैतमा लकडाउन घोषणा गरिएसँगै थला परेको पर्यटन केही महिना चहलपहल भए पनि निरन्तरता पाउन सकेन । कोरोनाको दोश्रो लहरका कारण पुनः लकडाउन हुँदा २०७८ सालको सुरुआतदेखि ठप्प रहेको देशकै तेस्रो पर्यटकीय गन्तव्य अव चलायमान हुने आशामा पर्यटन व्यवसायी छन् । यसका लागि पर्यटन व्यवसायीहरुले अफर जारी गरेका छन् । सौराहा आउने पर्यटकका लागि हात्ती सफारी, जीप र डुंगा सफारीमा पनि छुट दिइएको र निकुञ्जमा जीप सफारीसमेत सुरु भएको बताउनुहुन्छ युनाइटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष रिषी तिवारी ।
एकसिँगे गैँडा, बाघ, हात्तीजस्ता जंगली जनावरहरको प्रत्यक्ष अवलोकन र गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको अवलोकनका साथै होमस्टेसमेत यहाँको मुख्य आकर्षण हो । कोरोना विरुद्धको खोप धेरैले लगाएका कारण अव पर्यटक ओइरिने र थला परेको पर्यटन व्यवसाय चलयमान हुनेमा उनीहरु आशावादी छन् ।