अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर विजया दशमीको अवसरमा दशैँ मेला सराय नाँचको आयोजना गरिने भएको छ ।
अर्घा, खाँची लगायत जिल्लाभर रहेका मठमन्दिरमा यो वर्षको विजया दशमीको अवसरमा स्वास्थ्य मापदण्ड पुरा गरी दशैँ मेला सराय नाँचको आयोजना गरिने भएको हो ।
अर्घा, खाँचीकोट लगायत जिल्लाभर मन्दिर संचालक समितीले डट्कमलाई जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पुरा गरी सराय नाँच गरिने छ । उता जिल्ला प्रशासन कार्यालयले बडादशैंलाई मध्य नजर राखेर सराय नाँच लगायत भीडभाड हुने क्षेत्रमा अझै कार्तिक ४ राती १२:०० बजेसम्म रोक लगाएको छ ।
तर प्रहरी, प्रशासन स्रोतका अनुसार स्वास्थ्य मापदण्ड पुरा गरी दशैँ मेला, सराय नाँच आयोजना गरे कुनै अवरोध, हस्तक्षेप नगरिने बताइएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले दशैँ मेला सराय नाँचको आयोजनामा रोक लगाएको भन्दै जिल्लाबासी आक्रोसित छन् । पार्टी, संघ, संस्थाका ठुला ठुला कार्यक्रम गर्न दिने तर स्वास्थ्य मापदण्ड पुरा गरी दशैँ मेला सराय नाँचको आयोजनामा रोक लगाउने भन्दै उनिहरु आक्रोसित बनेका हुन् ।
यस्तै जिल्लाभर मन्दिर संचालक समितीले दशैँ मेला सराय नाँचमा आउनेले अनिवार्य माक्स लगाउन पर्ने बताएका छन् । साथै यसको तयारी पनि गरेका छन् । भने राष्ट्रिय जनमोर्चा लगायतका अन्य राजनितिक दलले अर्घा, खाँचीमा कार्यक्रम आयोजना गर्ने वा नगर्ने केही बताएका छैनन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । अर्घाखाँचीमा एक लाख ३३ हजार ६५५ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।