अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर विजया दशमीको अवसरमा दशैँ मेला सराय नाँचको आयोजना नगर्न प्रशासनले जिल्लाबासीमा अनुरोध गरेको छ ।
अर्घा, खाँची लगायत जिल्लाभर रहेका मठमन्दिरमा यो वर्षको विजया दशमीको अवसरमा आयोजना गरिने दशैँ मेला सराय नाँच नगर्न जिल्ला प्रशासनले जिल्लाभरका मन्दिर संचालक समिती, संघ- संस्थालाई अपिल गरेको हो ।
संक्रमित दरको खतरा पछिल्ला दिनमा बढेको तथा राजनितिक दलहरुका कार्यक्रमहरु, बिभिन्न खेलकुद प्रतियोगिताहरु जस्ता भिडभाड जन्य कार्यक्रम गर्न प्रशासनले पूर्व स्वीकृति नदिएको पनि प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची डट्कमलाई बताए ।
जिल्लाभरका मन्दिर संचालक समिती, संघ- संस्थाले स्वास्थ्य मापदण्ड पुरा गरी दशैँ मेला सराय नाँचको आयोजना गर्ने तयारी गरेको बेला प्रशासनले घरमा बसेर दशैँ लगायतका पर्व मनाउन अनुरोध गरेको छ ।
उता अर्घा, खाँचीकोट लगायत जिल्लाभर मन्दिर संचालक समितीले डट्कमलाई जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पुरा गरी सराय नाँच गरिने बताएका छन् । तर जिल्ला प्रशासन कार्यालयले बडादशैंलाई मध्य नजर राखेर सराय नाँच लगायत भीडभाड हुने क्षेत्रमा अझै कार्तिक ४ राती १२:०० बजेसम्म रोक लगाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले दशैँ मेला सराय नाँचको आयोजनामा रोक लगाएको भन्दै जिल्लाबासी आक्रोसित छन् । पार्टी, संघ, संस्थाका हजारौको उपस्थितीमा ठुला ठुला कार्यक्रम गर्न दिने तर स्वास्थ्य मापदण्ड पुरा गरी दशैँ मेला सराय नाँचको आयोजनामा रोक लगाउने भन्दै उनिहरु आक्रोसित बनेका हुन् ।
यस्तै जिल्लाभर मन्दिर संचालक समितीले दशैँ मेला सराय नाँचमा आउनेले अनिवार्य माक्स लगाउन पर्ने पनि बताएका थिए । साथै यसको तयारी पनि गरेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । अर्घाखाँचीमा एक लाख ३३ हजार ६५५ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।