बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । नेपालीको महान चाड दशै नजिकिदै गर्दा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका पसलहरुको अनुगमन गरेको हो ।
शुक्रवार नगरपालिकाले वडा नं. १ को शान्ति बगैंचा, गुण्टेखोला साथी होटल लाईन, वडा नं. २ को भक्तिटोला चोक, ग्रिन बोर्डिङ्ग स्कुल लाईन, वडा नं. ८ को किमडाँडा, छेडा, पकले बजारमा रहेर विभिन्न व्यवसाय सञ्चालन गरेका ५३ वटा पसलहरुको अनुगमन कार्य सम्पन्न भएको छ । बजार अनुगमनको क्रममा दर्ता विना नै पसल तथा व्यवसाय सञ्चालन गरेको, म्याद गुज्रिएका सामानको बिक्रि गर्ने गरेको, व्यवसाय नविकरण नगरेको पाईएको छ ।
किराना पसल, होटल तथा कोल्ड स्टोरबाट म्याद गुज्रिएका वस्तु जस्तैः खाने तेल, बिष्कुट, सुर्तिजन्य पदार्थ, जुस, चुरोट, भुजा, चिप्स, दालमोठ, चोखोफन मिठाई, मसला जन्य पदार्थ, घरेलु मदिरा जफत गरिएको छ । ५ लिटर घरेलु मदिरालाई सम्बन्धित पसल नजिकै र अन्य वस्तुलाई जिल्ला प्रशासन कार्यालय हाताभित्र डम्पिङ्ग गरिएको छ । अनुगमनको क्रममा पसल नविकरण नगरेका व्यवसायीलाई १ हप्ताभित्र सम्बन्धित वडामा गई नविकरण गर्न, दर्ताविना नै पसल सञ्चालन गरेकालाई पसल दर्ता गर्न र साईन बोर्ड अनिवार्य राख्न भनिएको छ ।
गाउँमा रहेका पसलहरुमा म्याद गुज्रिएका सामानहरु बढि मात्रामा भेटिएकाले अनुगमनको पाटोलाई मेलापर्वमा मात्र नभई अन्य समयमा पनि अनुगमन गर्नुपर्ने अनुगमन अधिकृत जीबनारायण आचार्यको भनाई छ । कम्पनिबाट ४/५ दिनको म्याद भएको सामाग्री ल्याएर पसलेलाई बेच्ने प्रवृद्धि बढि देखिएकाले म्याद नाघेका सामाग्री बढि मात्रामा पाईने गरेको उनले बताए । वस्तु बनेको र प्रयोग गर्न मिल्ने दुवै मिति हेरेर मात्र सामान खरीद बिक्रि गर्ने कुरामा व्यवसायी र उपभोक्ताहरुले ध्यान दिनुपर्ने देखिन्छ ।
अनुगमन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालको विशेष उपस्थिति, अनुगमन समितिका संयोजक जीब नारायण आचार्य, जिल्ला प्रसाशन कार्यालयका कृष्ण प्रसाद आचार्य, पशु शाखाका बुद्धि गौतम, अमिन रमेश खडायत, उद्योग वाणिज्य संघका जिल्ला सदस्य रुद्र प्रसाद श्रेष्ठ, च्याम्बर अफ कमर्श महासचिव प्रकाश भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर तामाङ्ग, पत्रकार महासंघ जिल्ला सदस्य बिष्णु खनाल, पत्रकार हरि प्रसाद भुसाल लगायतको सहभागिता रहेको थियो ।