बसन्त श्रेष्ठ छापेली
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १० अर्घामा जनजाति सीप तथा आयमूलक कार्यक्रम अन्र्तगत उन्नत जातको आलुको बीउ र जैविक मल हस्तान्तरण गरिएको छ ।
वडा कार्यालयले बिनियोजन गरेको ५० हजार रुपैयामा एक कार्यक्रमको आयोजना गरी वडाभित्र रहेका सबै आदीवासी जनजातिहरुलाई उन्नत जातको टिपीएस आलुको बीउ, जैबिक मल र उत्पादन सम्बन्धी तालिम दिइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष लक्ष्मीनारायण चुदालीले आदीवासी जनजातिको हकहितका लागि रकम बिनियोजन गरेको भन्दै प्रबिधि तालिमबाट व्यवसायिक रुपमा कृषि पेशा र आयआर्जनमा केन्द्रीत हुन सहभागीहरुलाई अपिल गर्नुभयो । वडाध्यक्ष चुदालीले जनजातिहरुले आफ्नो पुर्खौली पेशा सँग सँगै आधुनिक र व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनजाति समुदायको मागलाई सम्बोधन गर्न वडा कार्यालयले बार्षिक रुपमा बिभिन्न नीति तथा कार्यक्रम ल्याउदै आएको बताउनुभयो ।
वडा सचिव धर्मराज भुसालले वडाबाट बिनियोजन भएको रकमबाट वडाबासी जनजाति समुदायका लागि उन्नत जातको आलुको बीउ, मल र उत्पादन सम्बन्धी तालिम दिइएको भन्दै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भुसाल, पशु सेवा प्राबिधिक सुशिल आचार्यले उत्पादन सम्बन्धी तामिल दिनुभएको थियो ।
तालिममा वडा सदस्य ऋषिकेष भुसाल, आदर्श आधारभूतका प्रधानध्यापक खगिश्वर नेपाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वडा स्तरीय आदीवासी जनजाति सञ्जालका संयोजक बिष्णु घर्तीको अध्यक्षता, सचिव प्रकाश श्रेष्ठ र सञ्चारकर्मी बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।