अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बेमौसमी वर्षाले आएको बाढी तथा पहिरोले अर्घाखाँची जिल्लामा मानवीय क्षति नगरे पनि दर्जनौ परिवार विस्थापित भएका छन् ।
३७ वर्ष यताकै ठूलो वर्षा र बाढी आएपछि जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका प्राय क्षेत्रमा क्षति गरेको छ ।
बाढीले सन्धिखर्क र चुत्रावेशी बजारलगायतका ठाउँमा बनेका अधिकांश घरहरु खोला अतिक्रमण गरी बनाएको कारण निकास साँघुरो हुँदा डुबान भएको थियो ।
जिल्लाका कयौ ठाउँमा बाढी घरभित्र पसेपछि स्थानीयले न घरमा रहेको अन्न र लत्ताकपडा नै सुरक्षित स्थानमा राख्न पाए । घरमा अन्नको दाना तथा फेर्न एकजोर लुगा समेत नरहेपछि अहिले उनीहरुलाई खाने र लगाउने समस्या भएको स्थानीय बाढी पीडित बताउँछन् । कतिपयका कच्ची घरहरु भत्काएको छ भने पक्की घरहरुमा पनि लेदो भरिएको छ । जसले गर्दा पीडतहरुलाई घरमा बस्न समस्या भएको छ । बाढीले खानेपानीको धारा पनि पुरिएपछि उनीहरु दूषित पानी पिउन बाध्य छन् । कसैले वास्ता नगरेको बाढी, पहिरो पीडितहरुको गुनासो छ ।
यस्तै खाँचीकोटको गच्छे बजारमा कुखुरा फर्ममा बाढी पस्दा १ हजार कुखुरा मरेका छन् । चारदिनको अविरल वर्षाले बाँगी खोलाको बाढीले कुखुरा फर्ममा क्षती पुर्याएको हो ।
सरकारले बाढीबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै राहत तथा क्षतिपूर्ति प्याकेजको आश्वासन दिइरहेको छ । तर पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरुका लागि एक महिनापछि राहत बाँड्नुको कुनै औचित्य हुने छैन् ।
उता कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जिल्लाका सबै वार्ड मार्फत धान बालीको क्षति विवरण संकलन गरेको छ । जिल्लाका सबै स्थानिय किसानले आफ्नो धानको क्षति विवरण आगामी कार्त्तिक ७ गते अर्थात ३ दिन भित्र वार्ड कार्यालयमा बुझाउनु पर्नेछ ।
जिल्लाभरका कृषकले क्षतिपूर्ति माग गरेका छन् । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले कुन आधारमा के कस्तो क्षतिपूर्ति दिने हो त्यो खुलाएको छैन् । यस्तै स्थानिय पालिकाले पनि मर्कामा परेका कृषकलाई क्षतिपूर्ति दिने वचन दिएका छन् ।
उता जिल्लाभर पाक्न लागेको धानबाली हावाहुरीले नमज्जाले क्षति पुगेको छ ।