अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै वार्डहरूमा नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्दै एक साथ अधिवेशन सम्पन्न भएको छ ।
जिल्लाका सबै ६१ वार्डहरूमा शनिबार एमालेको नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अधिबेशनले सर्वसहमत नेतृत्व चयन गरेको छ । एमालेको नेतृत्वमा अधिकाम्स युवाहरू चयन भएका छन् । अधिबेशनको भर्चुअल माध्यम बाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
जिल्लाका ६१ वटा वडामा सम्पन्न अधिवेशनलाई पार्टीका केन्द्र ,प्रदेश र जिल्लाका नेताहरूले समेत सम्बोधन गरेका थिए ।
एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले सन्धिखर्कको अर्घा तथा खाँचीकोटमा आयोजित अलगअलग कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा एमालेको बहुमत आउने बताउनुभयो । उहाँले चुनाव हार्ने निश्चित भएपछि प्रतिक्रियावादीहरुले मोर्चाबन्दी गर्न थालेको आरोप समेत लगाउनु भयो ।
यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाले सन्धिखर्क २,केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्काले मालारानी ६ रतनमारे,केन्द्रीय सल्लाहकार नरेन्द्र कुमार क्षेत्रीले मालारानी- ५ बाँगी,एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सन्धिखर्क १ सन्धिखर्क,पार्टी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले सन्धिखर्क ६ नरपानीको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।