अर्घाखाँचीमा कृषिमा कुनै पनि क्षति नभएको विवरण सार्वजनिक
कार्तिक ८ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा लगातारको हावाहुरी सहितको वर्षाका कारण कृषिमा कुनै क्षति नभएको देखिएको छ ।
लगातारको हावाहुरीसहितको वर्षाका कारण धान बाली लगायत कृषिमा नोक्सान भएपनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने अर्घाखाँचीमा कृषिमा कुनै क्षति नभएको विवरण सार्वजनिक गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा रुपन्देहीमा सबभन्दा ठूलो क्षति भएको छ भने अर्घाखाँचीमा कृषिमा कुनै क्षति भएको छैन् । लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाएको बालीमा बाढीले क्षति भएको छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाकाका सबै वार्ड मार्फत धान बालीको क्षति विवरण संकलन गरेको थियो । जिल्लाका सबै स्थानिय किसानले आफ्नो धानको क्षति विवरण वार्ड कार्यालयमा बुझाएका थिए ।
लगातार वर्षाका कारण जिल्लाभर पाक्न लागेको धान बाली लगायत कृषिमा ठुलो क्षति भएको देखिन्छ । सन्धिखर्कको बाँगी खोला फाट, फुदवाङ लगायत जिल्लाभर लगाएको पसाउन थालेको र काट्न तयार रहेको धान लडेको छ । यसले गर्दा पाकेको धानमा पनि क्षति पुगेको छ । “किसानहरुले धान क्षति भएको भनेर चिन्ता गरेका छन् ।”
उता गत कार्त्तिक २ गते मंगलवार र ३ गते बुधवारका दिन ३७ वर्ष यताकै ठूलो वर्षा बाढी आएपछि सन्धिखर्क र चुत्रावेशी बजारलगायतका ठाउँमा बनेका अधिकांश घरहरु खोला अतिक्रमण गरी बनाएको कारण निकास साँघुरो हुँदा डुबान भएको थियो । बाँगी खोला वहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको थियो । भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्रमा दुबान भएको थियो । यस्तै अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुवानमा भएको थिएनन् ।