अर्घाखाँचीका यात्रुहरुसँग नियमानुसार भाडा लिएको बस व्यवसायीहरुको दावी


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुले यात्रुहरुसँग मनपरी भाडा असुल्ने गरेको डट्कममा प्रकसित समाचारको बस व्यवसायीहरुले खन्डन गरेका छन् । 
अर्घाखाँची  जिल्लाबाट बुटवल, काठमाडौं, कृष्ण नगर लगायत बाहिर शहरमा चल्ने सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा नलिएको उनिहरुको दावी छ ।
सन्धिखर्क बस काउन्टर अर्घाखाँची शाखाका टोपलाल भुसालले भने; “काउन्टरबाट बढी रकम लिएको नभई नियमानुसार नै रकम लिएको तर बुझाईमा केही फरक परेकोले सबै भ्रम सिर्जना हुन पुग्यो। 
नेपाल सरकारले साविक रहेको सामान्य  भाडामा २०% बढाएकोमा सामान्य गाडीमा यात्रा गर्नेको लागि सोही दरमा नै भाडा लिने गरेको तर डिलक्स सुविधा  लिनेको लागि  कायम रहेको भाडामा २०% र एसि सुविधा लिनेको लागि डिलक्स सुविधामा लिने भाडाको ४०% बढी भाडा लिने यातायात व्यवस्था विभागको नियम बमोजिम सोही अनुरुपको भाडा लिएको र त्यो भन्दा बढी भाडा काउन्टर बाट नलिएको दावी गरेका छन् । 
त्यसैगरि अर्घाखाँचीदेखि काठमाडौसम्म चल्ने बस सामान्य नभई डिलक्स र एसि सुविधा युक्त भएकोले आम जनतामा भ्रम पर्न गएको उनिहरुको भनाई छ।
उता सन्धिखर्कबाट काठमाडौंको जानेसँग १४५० रुपैंया भाँडा लिएको भन्दै यात्रुहरुले गुनासो गर्दै आएका छन् । काठमाडौंदेखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ९८८ रुपैयाँ भाडा कायम भएको छ । यसअघि ७८८ रुपैयाँ लिने गरेका थिए ।  
बस सञ्चालक समितिले कायम रहेको नै भाडादर कायम गरी बस चलाउन थालेको भनेपनि काउण्टरमा भने मनपरी भाडा असुली गरेको यात्रुहरुको आरोप  छ । साथै जिल्लाबाट चल्ने बसहरुले एसी, चार्जर सबै सुविधा सहित भनेता पनि केही नभएको उनिहरुको गुनासो छ ।  
तर जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले मनपरी भाडा असुली गर्ने सवारी साधनहरु नछोड्ने बताएको छ । साथै प्रहरीले अब टिकट भाडा सबै सुविधा लगायतका गुनासोहरु यात्रुहरुसँग सोध्ने भएको छ ।