सन्धिखर्कका कुमाल समुदायको पिडा: मृत्यु-संस्कारका लागि सार्वजनिक जङ्गलमा बस्नुपर्ने


मुक्तिनाथ भुसाल
सन्धिखर्क,  अर्घाखाँची । गाँस, बास र कपास नेपाली नागरिकहरूको आधारभुत अधिकार भए पनि कतिपय स्थानमा बसोबास गर्नेहरूको अवस्था दयनीय रहेको छ । सिंहदरबारको अधिकार गाउँटोलमा पुगेको भनिए पनि व्यवहारमा ‘सिंह’ मात्रै गाउँमा आएका र ‘दरबार’ काठमाडौंमै रहेको होकि भन्ने झल्को समाजका कतिपय घटनाक्रमले स्पष्ट पार्दै आएको छ ।
पछिल्लो जनगणनाअनुसार करिव २ लाख जनसंख्या रहेको अर्घाखाँचीमा १० हजारभन्दा बढी कुमाल जाति रहेको छ । सुरुको सदरमुकाम जिल्लाको नरपानीबाट २०३२ सालमा सन्धिर्खकमा आउँदै गर्दा कुमालहरूको बाहुल्यता थियो । त्यसपश्चात तत्कालिन चलाख तथा पढेलेखेका व्यक्तिहरूले सोझा कुमालहरूलाई फकाएर, धम्क्याएर वा मानापाथी तथा नगन्य नगद दिएर गतिला जमिन आफूहरूले हडप्दै उनीहरूलाई सदरमुकामको छेउटुप्पा तथा गाउँतर्फ धपाएका थिए ।
यसरी धपिएका कुमालजातिको अवस्थालाई नजिकबाट नियाल्ने हो भने धेरैकोे अवस्था कारुणिक रहेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ स्थित अलुवाखोला अर्थात् हालको आर्मीक्याम्प तल निवासी पदम मुखियाले पवन र प्रवीन नामका दुई छोरालाई जन्म दिएका थिए । पवन र प्रवीनले आफनो बाल्यकाल उमेरमा आमा गुमाएका कारण आमाको माया उनीहरूलाई अनुभव हुन सकेन । बाबु पदम मुखिया बजारतिरै दैनिकी गरी आफू मात्रै पालिँदै आए पनि आज भन्दा दुई वर्षअगाडि सदरमुकामस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनका जेठा छोरा पवनले सदरमुकाममा मजदुरी गरी जीवीकोपार्जन गरे पनि आफनो बास नभएको कारण बजारमा डेरा लिएर बसेका छन् ।
भविष्यमा पैसा कमाएर घर बनाउने सपना देखेका पवनले आफ्नो भाइ प्रवीनलाई पाँच बर्ष अगाडी जेनतेन कतार पठाएका भए पनि हाल उनी रित्तो हात घर फर्किएका छन् । उनका अनुसार कतारमा पाएको तलब खान-बस्नलाई पुगेको र त्यसैमाथि बिरामी परेको कारण मुस्किलले टिकट गरी घर फर्किएको बताएका छन् ।
घरमा आउँदा आफ्नो बास नभएको र आज भन्दा दुई वर्षअगाडि अनन्त यात्रामा लागेका बाबुको क्रिया गर्नु आफ्नो कर्तव्य भएको भन्दै आफ्नो पुर्ख्यौली भिरालो जमिननजिकैको घनाघोर सार्वजनिक जंगलबीचमा क्रियाकर्म (मृत्यु-संस्कार)का लागि बसेका छन् । नेपाली काङ्ग्रेस सन्धिखर्क वडा नम्बर १ की क्षेत्रीय प्रतिनिधि तारा मुखियाले आफ्नो घरबाट केही त्रिपाल र रेडक्रसबाट मुसाले खाएका दुई वटा कम्बल तथा खाना पकाउने साधारण भाँडाहरू क्रियामा बसेको ६ दिनभित्रमा उपलब्ध भएको क्रियापुत्रीले बताएका छन् ।
मृत्यु–संस्कार पूरा गरेर निस्किएपछि आफू कहाँ गएर रात बिताउने र के खाने भन्ने थप चिन्तामा उनी रहेका छन् । उनीहरूको नजिकै ७८ वर्षीया खमी मुखियाको घर रहे पनि वर्षौंअघि ढुङ्गाको छानोबाट निर्मित उक्त घरको छानो भत्किएकोले खमी मुखिया स्वयम् अन्यत्रै रात बिताउन बाध्य बनेकी छन् । उनकाअनुसार सुरक्षित छानो भएमा आफू आफ्नै घरमा बस्न चाहन्छिन् ।
यस प्रकारका थप प्रतिनिधि घटनाका रूपमा सन्धिखर्क नगरपालिका वडा नम्वर ६ स्थित भुडडाँडाको कुमालटोललाई लिन सकिन्छ । त्यहाँ रहेका करिव एक दर्जन कुमाल परिवारहरूसँग भएको जमिनमध्ये धेरैजसोलाई तीन महिना खान पुग्दैन । मजदुरी र अर्काको जमिन खेती गरी जेनतेन जीविकोपार्जन गरेका उनीहरूमध्ये विशेषगरी चुराबहादुर मुखियाको अवस्थाप्रति राज्य बेखबर रहेको छ ।
पहिरोले तान्न लागेको कटेरोमा गुजारा गरेका उनको एक मात्र छोरा कारागारमा छन् भने श्रीमती विकलाङ्गी छन् । कोभिडको समयमा जिल्ला लामो समय लकडाउन हुँदा उनीहरूलाई राज्य पक्षबाट बेवास्ता गरिएको कारण इजरायलस्थित थापा युवराजको सहयोगमा केही घरधुरीहरूलाई राहत वितरण गरिएको थियो । बुझिएअनुसार सो राहत उनीहरूका लागि पहिलो अनुभव रहेको थियो ।
प्रायः खोलाको छेउछाउमा बस्दै आएका कुमालका पुर्खाहरूले माछामार्ने जाली बुनेर माछा मार्ने, माटाका भाँडा बनाउने, धाँतो(सिलौटो बनाउँने, खोलो तारिदिने, कसैको बिवाहमा दुलही बोक्ने, भरिया तथा ज्यालादारी काम गर्ने, खेतीपातीमा सघाउने र अत्यन्तै सोझा भएका कारण थोरै पैसाँमा धेरै काम गर्ने जातिका रूपमा परिचित रहेको पाउन सकिन्छ । शहरतिर पक्की घर बनाउने क्रमले निरन्तरता लिएसँगै कुमालजातिले गिट्टी फोर्ने, बालुवा चाल्ने र घर बनाउने काममा पनि सक्रिय बनेको पाउन सकिन्छ ।
जिल्लाको जलुगे, सिद्धारा, ठाडा, सिमलपानी, खिदिम, पाली, चिदीका, बल्कोट, ठुलापोखरा, बा¨ला, डिभर्ना, खाँचीकोट, अडगुडी, असुरकोट र सन्धिखर्क लगायतका साबिक गाविसहरूमा कुमालजातिलाई पाउन सकिन्छ । सदरमुकाम सन्धिखर्कमा रहेका कुमाल समुदायहरूमध्ये करिब २० घर धुरी अत्यन्तै हुनेखाने रहेका र लगभग १२ वटा पक्की घर कुमाल समुदायले निर्माण गरिसकेका छन् । बाँकी परिवारका सामान्य घर रहेका भए पनि त्यसमा लगभग १३ घरधुरीको अवस्था दयनीय रहेको बुझिन्छ । कुमालजातिका धेरैजसोलाई बढीमा ६ महिना मात्रै खान पुग्ने कारण प्रायले घर बनाउने, पेन्टिङ गर्ने, गाडी चलाउने, ब्यवसाय गर्ने र ज्यालादारी कार्यमा हौसिएको पाइएको छ । तसर्थ जिल्लामा रहेका कुमालजातीको शिक्षा, स्वास्थ्य तथा गाँसवासका लागि राज्यले पहलकदमी चालेमा चुनावी समयमा भोट किन्नुपर्ने समस्याको अन्त्य हुन गइ सामान्य परिवारमा हुर्केकाहरूले समेत चुनावी मैदानमा उत्रिएर समाजको सेवा गर्न पाउने छन् ।

अन्य समाचारहरु