अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । कांग्रेसको १४ औं महाधिवेशनले सबल र सक्षम नेतृत्व चयन गर्नेमा जोड एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । शुक्रबार नेपाली कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क सदनले बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले कांग्रेसको १४ औं महाधिवेशनले सबल र सक्षम नेतृत्व चयन गर्ने बताएका छन् । भुसालले कांग्रेसको वर्तमान केन्द्रीय समितिले समयमै गर्नुपर्ने महाधिवेशनलाई बारम्बार धकेलेर कांग्रेस माथि वैधानिकताको प्रश्न उठ्न थालेको उनको भनाई छ ।
सो अवसरमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले कांग्रेस लोकतान्त्रिक नेतृत्व चयन गर्ने पार्टी रहेको बताउँदै विधिको शासन अवलम्बन गरेर पार्टीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु मुस्कानले एकताको सन्देश महाधिवेशनबाट जनताले सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । महाधिवेशनले संघ, प्रदेश र स्थानीयलाई जोड्ने उनको भनाई छ । मुस्कानले गुट–उपगुटबाट टाढा रहेर सबै एकताको सन्देश बोकेर अगाडी बढ्ने विश्वास व्यक्त गरे । त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको उच्च भुमीका रहने बताइन् । उनले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक ठानी आगामी आम निर्वाचनमा केन्द्रित भइ अगाडि बढन समेत सबैलाई आग्रह गरिन ।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व सभापति तथा सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, कांग्रेस उपसभापति शान्ता भण्डारी, सचिव छबिलाल पौडेल, महासमिति सदस्य तथा शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, महासमिति सदस्य यादव घिमिरे, महासमिति सदस्य केशब श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ काश्यप, सैनामैना नगर सभापति रणबहादुर खनाल,अर्घाखाँची प्रदेश सभा ‘क’ केशबराज कुँवर लगाएतले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्र सम्म सहकार्य, सहमति र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितीका सभापति तुल्सी भुसालको अध्यक्षता, सचिव विनोद घिमिरेको सञ्चालन र उपाध्यक्ष टिकाराम बन्जाडेको स्वागतमा सम्पन्न भएको थियो ।