अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको अर्घाखाँची जिल्लामा एक सिट खाली छ ।
माओवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना सांसद टोपबहादुर रायमाझीलाई कारवाही गरेपछि खाली भएका यस क्षेत्रमा उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ । अबको केही महिनामा यो क्षेत्रमा उपचुनाव हुँदैछ ।
माओवादीबाट रायमाझीले जितेको यो क्षेत्रमा ०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । अहिले त्यो गठबन्धन भत्किएको छ भने स्वयं एमालेसमेत चोइटिएर कमजोर बनेको छ । साथै अर्घाखाँचीमा माओवादी पनि फुटेको छ । किनभने, जननिर्वाचित सांसदहरु नै माओवादी छाडेर एमालेतिर लागेको स्थिति छ । माओवादी केन्द्रका सांसदले दल त्याग गरेका कारण यहाँ माओवादी पनि कमजोर बनेको छ ।
त्यसैले यस संसदीय चुनाव क्षेत्रमा गठबन्धनबिनै उम्मेवार खडा गर्ने हो भने एमाले, राष्ट्रिय जनमोर्चा वा माओवादीले जित हात पार्न मुस्किल देखिन्छ । किनकि, कम्युनिस्ट पार्टी फुटेको स्थितिमा यहाँ अहिले नेपाली कांग्रेस बलियो शक्तिका रुपमा देखिएको छ ।
अबको उपचुनावमा सत्तापक्षीय गठबन्धन दलहरु राष्ट्रिय जनमोर्चा, काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लामा कांग्रेसलाई भोट हाल्छ या हाल्दैन, यो भने स्पष्ट भइसकेको छैन । टोपबहादुर रायमाझी यतिबेला माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । यो क्षेत्रमा हुने उपनिर्वाचनमा रायमाझीले फेरि उम्मेदवारी दिँदा एमालेबाट पूरै मत र आफ्नो भोट बैंकबाट केही मत पाए भने विजय नजिक पनि पुग्न सक्छन् । तर, एमाले फुटेका कारण एमालेको भोटमा कस्तो प्रभाव पर्छ र कांग्रेसले उठाउने उम्मेदवारको आधारमा रायमाझीको अवस्था थाहा हुनेछ ।
२०७४ सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट तत्कालीन बाम गठबन्धनका उम्मेदवार माओवादी नेता टोपबहादुर रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. रामबहादुर बीसीले ३२ हजार ५ सय ४४ मत ल्याएका थिए । दुई उम्मेदवारबीच १८ हजार २९३ मतान्तर थियो ।
साथै २०७० मसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीका टोपबहादुर रायमाझी विजयी भएका थिए । रायमाझीले १२२८६ मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले ११२३४ मत ल्याएको छ भने एमाले १०२४० मतका साथ तेश्रो स्थानमा रहेको थियो । रायमाझीले प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सी.लाई करीव एक हजार मतले पराजित गर्दै विजयी भएका थिए ।
यस्तै निर्बाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका दुमनसिंह थापा बिजयी भएका थिए । निर्बाचन क्षेत्र नम्बर २ मा काग्रेसकी पुस्पा भुसालाई पछि पार्दै एमालेका डा. दुमनसिंह थापा बिजयी भएका थिए । थापाले १६ हजार ६ सय पचास र भुसालले १४ हजार ३६ मत प्राप्त गरेका थिए । एकिकृत माओबादीका बिष्णुहरी शर्माले ६ हजार ८ सय ८२ मत प्राप्त गरेका थिए । निर्बाचन क्षेत्र नम्बर २ मा ४१हजार ९ सय ८१ मत खसेकोमा १५ सय ८१ मत बदर भएका थिए ।
२०६४ सालको संबिधान सभाको निर्बाचनमा निर्बाचन क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझी र निर्बाचन क्षेत्र नम्बर २ बाट पुस्पा भुसाल बिजयी भएका थिए ।