अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यस वर्ष अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले देउसी-भैलो खेल्न रोक नलाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधवार एक सुचना जारी गरी स्वास्थ्य मापदण्ड पुरा गरी तिहार मनाउन अनुरोध गरेको हो । प्रशासनले जारी गरेको सुचनामा देउसी-भैलो सम्बन्धी कुनै उल्लेख नगरे अनुसार जिल्लामा भैलो कार्यक्रम आयोजना गर्न अनुमती दिएको छ ।
यस्तै प्रशासनले भिडभाड नगरी स्वास्थ्य मापदण्ड पुरा गरी तिहार मनाउन, जुवातास नखेल्न, आतिसबाजी जस्ता विष्फोटक उत्पादन-बिक्री नगर्न, मदिरा सेवन गरी सार्वजनिक ठाउँमा होहल्ला नगर्न जिल्लाबासीमा अनुरोध गरेको छ ।
उता जिल्लाभर रहेका संघ संस्था लगायत सबै स्थानिय तहमा देउसी-भैलो खेल्ने तयारी गरेका छन् ।
जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी लगायत सबै स्थानिय तहमा देउसी-भैलो खेल्न आ – आफ्नो तयारी गरेका हुन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका संघ- संस्था, राजनितिक दलले स्वास्थ्य मापदण्ड पुरा गरी देउसी-भैलोको आयोजना गर्ने तयारी गरेको बताएका छन् । यस्तै गाउँ – गाउँमा युवा युवती, केटाकेटीहरुले आफ्नै तरिकाले देउसी-भैलो खेल्ने तयारी गरेका छन् ।
देशको राजधानी काठमाडौं लगायत मुलुकभर देउसी-भैलो खेल्न अनुमती दिएका छन् ।
उता यस अगाडि जिल्लाभर सयौको उपस्थितीमा दशैँ मेला सराय नाँच भएका थिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । भने जिल्लामा कोभिड १९ विरुद्धको खोप कार्यक्रम निरन्तर चलिरहेको छ ।
दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।