अर्घाखाँचीमा नयाँ पुस्ता आधुनिकतामा रमाउँदा मौलिक देउसी–भैलो लोप हुने अवस्थामा


सागर महत
सन्धिखर्क, अर्घाखाँची । पछिल्लो पुस्ता आधुनिक देउसी–भैलोमा रमाउन थालेपछि मौलिकता हराउँदै गएको छ । जिल्लामा भैलो खेल्दा पुरुषहरूले महिलाको पहिरन लगाएर नाच्ने गरेको आजकल देखिँदैन ।
विशिष्ट सांस्कृतिक चिनारीले चिनिने पर्वमा महत्त्वपूर्ण पहिचान भोकेका दौरा सुरुवाल, फेटा, पटुकी, गुन्यु, चोलो लगायतका पहिरन लगाएर मादले, मारुनी पुर्सुंगेको नाचले नयाँ पुस्तालाई छुँदैन ।
नयाँ पुस्ता आधुनिकतामा रमाउँदा मौलिक देउसी–भैलो लोप हुने अवस्थामा पुगेको स्थानीय गणेशप्रसाद बन्जाडे गुनासो गर्नुहुन्छ । ‘अहिलेका ठिटाठिटी सबै साउण्ड सिस्टममा गीत बजाएर नाच्छन्,’ उहाँ भन्नुहुन्छ, ‘यहि तरिकाले अर्को पुस्ताले मौलिक देउसी–भैलो कस्तो थियो भनेर थाहै पाउँदैनन् ।’
गाईतिहारको पुजा गरिसकेपछि घर–घरमा नाच्न सुरु गरिने यो पर्व पहाडी जिल्लामा भट्याउने, भैलो भन्ने र बाँसुरी बजाउनेले बाटोमा हिड्दा भैलोमा गर्रा, ख्याली र सोरटी नाच्ने परम्परा रहेको छ । तर, परम्परागत देउसी–भैलोको संरक्षण भने हुन सकेको छैन ।
आधुनिकता भित्रिएसँगै दक्षिणासहितको नाङ्लो नचाउने, सेल रोटी खाँदै देउसी–भैलो गाउन र भट्याउन हिड्ने परम्परा हराउन थालिसकेको छ । उफर बजाउने र उत्तराधुनिक प्रवृत्तिको गीतमा गरिने नृत्य आजकलको देउसी–भैलोमा मिसिएको छ
परम्परागत भेषभुषा र नाचगानलाई महत्त्व दिएर मनाउनुपर्ने चाडपर्वमा उत्तराधुनिक गीतसंगीत र बनिबनाउ गीतमा गरिने नृत्यले देउसी–भैलोसँगै तिहारको मौलिकतामै प्रभाव पार्ने निश्चित छ ।
आधुनिकतासँगै चाडपर्व मनाउने तरिकामा परिवर्तन आउनु स्वभाविक मान्न सकिएला । तर, आधुकिनताको नाममा चाडपर्वको मौलिकतामाथि नै प्रहार गर्नु बान्छनीय होइन ।