सल्यानमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा १८ जना घाइते छन् । गम्भीर अवस्थामा रहेका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको बताए । हालसम्म जिल्ला अस्पताल सल्यानमा खलंगमा मृत्यु भएका छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मात्रै सनाखत भएको छ । सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा पठाइएको छ ।
घाइतेको उद्धारका लागि हेलिकोप्टर पनि मागिएको प्रनाउ थापाले बताए । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट उद्धार गरेर बाहिरी जिल्लामा उपचारका लागि पठाउन लागेको बताइएको छ । अन्य ७ जना घाइतेको सल्यानमै उपचार जारी छ ।
बसमा ३० यात्रु सवार थिए । चालक भने सम्पर्कविहीन छन् । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आज बिहान पौने ११ बजे कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो । सडकको खराब अवस्था र बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ । इमेज च्यानलमा समाचार छ ।